२५औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसी काठमाडौंमा, शिक्षण अस्पतालमा उपचार सुरु

पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, १६ कात्तिक। चिकित्सा शिक्षा सुधारको माग राख्दै इलाममा अनशन बसेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत सोमबार बिहान काठमाडौं ल्याइएका केसीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार सुरु भएको छ।
चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै गत कात्तिक १३ गतेदेखि इलामको नारायण मन्दिरमा २५औँ सत्याग्रह सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार इलाम अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।
इलाम अस्पतालका अनुसार स्वास्थ्य परीक्षणका क्रममा केसीको रगतमा ग्लुकोजको मात्रा निकै कम देखिएको थियो भने पिसाबमा एसिटोनको मात्रा बढेको पाइएको थियो। स्वास्थ्य अवस्था थप बिग्रँदै गएपछि अस्पतालले उनलाई कोसी प्रदेश अस्पताल विराटनगरमा रेफर गरेको थियो। तर, सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ।
पूर्वाधार पर्याप्त नभएका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई चिकित्सा शिक्षा अध्यापनको अनुमति दिएको भन्दै डा. केसीले सरकारको निर्णयको विरोध गर्दै आएका छन्। उनले स्वार्थको द्वन्द्व देखिने निर्णयहरू खारेज गर्नुपर्ने र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप गरिएको एमबीबीएसको सिट तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन्।

चिकित्सा शिक्षा आयोगले यस वर्ष एमबीबीएस अध्ययनका लागि कुल ११० सिट थप गर्ने निर्णय गरेको थियो। जसअनुसार सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३०–३० सिट वृद्धि गरिएको थियो।

सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदेखाएको भन्दै डा. केसीले अनशन सुरु गरेका थिए। लगातारको अनशनका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि अहिले उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Leave a Comment