भएबबारा, १६ कात्तिक। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले बाराको जिल्ला सभापतिमा राजेश राय यादवलाई पुनः सर्वसम्मत चयन गरेको छ।
आइतबार कलैया उपमहानगरपालिका–१ स्थित राजजानकी मन्दिरको प्राङ्गणमा सम्पन्न पार्टीको १५औँ जिल्ला अधिवेशनबाट यादव दोस्रो कार्यकालका लागि सभापतिमा चयन भएका हुन्।
यादवको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वखानेपानीमन्त्री उमाकान्त चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
अधिवेशनमा संविधानसभा सदस्य एवं पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति सोधीलाल मण्डल, क्षेत्र नम्बर २ का सभापति मुस्ताक अन्सारी, क्षेत्र नम्बर ३ की सभापति कलावती पासवान र क्षेत्र नम्बर ४ का सभापति हरेन्द्रप्रसाद यादवलगायतको उपस्थिति थियो।
त्यस्तै, विभिन्न प्रदेशसभा क्षेत्रका सभापति, कलैया उपमहानगरपालिकाका नगर सभापति दीपेन्द्र कुशवाहा, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, उपप्रमुख लक्ष्मी चौधरी, विभिन्न पालिकाका प्रतिनिधि, वडा सभापति तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
सभापतिमा पुनः सर्वसम्मत चयन भएपछि अधिवेशनमा सहभागी नेताहरूले यादवलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। उनीहरूले पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउन यादवको नेतृत्वले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी जयनारायण यादवले गरेका थिए।
कांग्रेसमा दुई समूहको छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया
नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र गगनकुमार थापा र शेरबहादुर देउवा पक्षले छुट्टाछुट्टै प्रक्रिया अघि बढाएका छन्।
विशेष महाधिवेशन पक्षधर थापा समूहले वडा, नगर र क्षेत्रीय तह हुँदै केन्द्रीय महाधिवेशनसमेत सम्पन्न गरिसकेको छ। देउवा समूहले भने वडा, नगर र प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ।
यसैक्रममा देउवा समूहले बारामा जिल्ला अधिवेशन सम्पन्न गरी यादवलाई पुनः सभापतिमा सर्वसम्मत चयन गरेको हो। थापा समूहले भने बारामा जिल्ला अधिवेशनको घोषणा गरेको छैन।

