काठमाडौँ, कात्तिक १६। संयुक्त राज्य अमेरिकासँग जारी तनाव कम गर्ने उद्देश्यले इरानले अघि सारेको सातदिने शान्ति योजनालाई दुई दिनमा सीमित गर्ने प्रस्ताव गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीका अनुसार अमेरिकाले पहिलो दिन इरानका सर्त पूरा गरे दोस्रो दिनदेखि हर्मुज जलडमरूमध्य खोल्ने प्रस्ताव गरिएको छ।
अल जजिरासँगको अन्तर्वार्तामा विदेशमन्त्री अराघचीले प्रस्तावित योजनाबारे कतारी मध्यस्थकर्ताहरूसँग छलफल भइरहेको जानकारी दिएका छन्। तर, यस विषयमा अहिलेसम्म कुनै अन्तिम सहमति भने भइनसकेको उनले स्पष्ट पारेका छन्।
इरानको प्रारम्भिक सातदिने योजनामा तनाव कम गर्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने र नयाँ चरणको वार्ता सुरु गर्ने विषय समेटिएका थिए। पछिल्लो प्रस्तावमा यही प्रक्रियालाई दुई दिनभित्र अघि बढाउने विकल्प प्रस्तुत गरिएको हो।
अराघचीका अनुसार प्रस्ताव कार्यान्वयन हुने वा नहुने कुरा इरानले उठाएका प्रश्न र सर्तबारे अर्को पक्षले दिने जवाफमा निर्भर हुनेछ। त्यसैले प्रस्ताव अघि बढे पनि अमेरिकाको प्रतिक्रियाले यसको भविष्य निर्धारण गर्ने देखिन्छ।
इरानले शान्ति योजनाको समयसीमा घटाउने प्रस्ताव अघि सारेको बेला फारसी खाडी क्षेत्रमा तेल तथा ग्यास ढुवानी गर्ने थप ट्यांकरहरूलाई निशाना बनाइएको समाचारसमेत सार्वजनिक भएका छन्। यसले उक्त क्षेत्रमा सुरक्षा र ऊर्जा आपूर्तिसम्बन्धी चिन्ता बढाएको छ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः ठूलो आक्रमण गर्ने तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ। यस्तो परिस्थितिमा इरानको पछिल्लो प्रस्तावले अमेरिका–इरान तनाव कम गर्न कस्तो भूमिका खेल्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ।
हालसम्म दुई देशबीच प्रस्तावित योजनामा अन्तिम सहमति भइसकेको छैन।

