इरान–अमेरिका सम्झौता निर्णायक चरणमा, अन्तिम निर्णय हुन बाँकी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

अमेरिका र इरानबीच जारी आणविक तथा समुद्री सुरक्षा सम्बन्धी वार्ता निर्णायक चरणमा पुगेको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अब ‘अन्तिम निर्णय’ लिन मात्र बाँकी रहेको बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले इरानले कहिल्यै आणविक हतियार वा आणविक बम नराख्ने प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। उनले हर्मुज स्ट्रेट तत्काल खुला गरिनुपर्ने र जहाजहरूलाई बिना अवरोध आवतजावत गर्न दिनुपर्ने उल्लेख गरेका छन्।
ट्रम्पका अनुसार अमेरिकाले हर्मुज स्ट्रेट क्षेत्रमा लगाएको नाकाबन्दी हटाउने प्रक्रिया पनि अघि बढाइएको छ। यससँगै रोकिएका जहाजहरूलाई पुनः सञ्चालनको अनुमति दिने तयारी भइरहेको उनले बताएका छन्।
गत वर्ष इरानका आणविक स्थलहरूमा गरिएको अमेरिकी आक्रमणपछि जमिनमुनि फैलिएको ‘आणविक धुलो’ व्यवस्थापनका विषयमा समेत सहमति भएको ट्रम्पको दाबी छ। उनले उक्त प्रक्रिया इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको समन्वयमा अघि बढाइने जानकारी दिएका छन्।
त्यस्तै आणविक सामग्री सुरक्षित रूपमा हटाएर नष्ट गर्ने विषयमा पनि समझदारी बनेको उनले उल्लेख गरेका छन्। केही अन्य मुद्दामा समेत सहमति जुटिसकेको जनाउँदै ट्रम्पले अब अन्तिम निर्णयका लागि उच्चस्तरीय बैठक बस्ने बताएका छन्।
अमेरिका र इरानबीच पछिल्ला महिनाहरूमा बढ्दो तनावका बीच आएको यो अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कूटनीतिक वृत्तले चासोका साथ हेरेको छ। विशेषगरी विश्व व्यापार र तेल आपूर्तिका लागि महत्वपूर्ण मानिने हर्मुज स्ट्रेट खुलाउने विषयलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

Leave a Comment