काठमाडौं, भदौ २९ । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सनसहित उच्चस्तरीय युरोपेली सुरक्षा अधिकारीहरू युक्रेनमा रुसी ड्रोन आक्रमणबाट जोगिएका छन्।
युक्रेनको किभमा आयोजित सम्मेलनमा सहभागी भएर फर्किरहेका बेला जोन्सनसहितका अधिकारीहरू यात्रा गरेको रेलभन्दा केही समयपछि युक्रेन–पोल्यान्ड सीमाक्षेत्र नजिकै रहेको अर्को युक्रेनी रेलमा रुसी ड्रोनले आक्रमण गरेको हो।
याहोदिन क्षेत्रमा भएको उक्त आक्रमणबाट रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको बताइएको छ। युक्रेनी अधिकारीका अनुसार आक्रमण हुनुअघि नै रेलमा रहेका यात्रुलाई सुरक्षित स्थानमा निकालिएको थियो।
जोन्सनसँगै बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल तथा अन्य युरोपेली सुरक्षा अधिकारीहरू किभ सम्मेलनबाट फर्किँदै थिए। उनीहरू सोही रेलमार्ग हुँदै फरक रेलबाट यात्रा गरिरहेका थिए।
रुसले पश्चिमी युक्रेनको रेल पूर्वाधारलाई लक्षित गरेर आक्रमण गरिएको दाबी गरेको छ। यद्यपि युक्रेनी सरकारी रेलवे कम्पनीले आक्रमणको सम्भावित लक्ष्य कूटनीतिक रेल हुनसक्ने जनाएको छ।
रेलवे कम्पनीका अनुसार रुसी आक्रमणको जोखिमलाई ध्यानमा राख्दै कूटनीतिक रेलको समयतालिका परिवर्तन गरिएको थियो। त्यसक्रममा रेल निर्धारित समयभन्दा केही अगाडि नै स्टेसनबाट छुटेको थियो।
आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि प्रभावित रेलका यात्रुलाई बाहिर निकाल्न निर्देशन दिइएको कम्पनीले जनाएको छ।
आक्रमणका बेला अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वप्रमुख डेभिड पेट्रायस पनि याहोदिन स्टेसनमा रहेको अर्को रेलमा सवार रहेको बताइएको छ। युक्रेन र पोल्यान्डका अधिकारीहरूका अनुसार ड्रोन आक्रमण पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर दूरीमा भएको थियो।
किभ सम्मेलनमा सहभागी स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्टले आफ्नो रेलसमेत केही समय रोकिएको बताएका छन्। रेल रोकिएपछि यात्रुलाई सम्भावित उद्धारका लागि तयार रहन निर्देशन दिइएको र केही मिनेटपछि अवस्था सामान्य रहेको भन्दै यात्रा पुनः सुरु गर्न भनिएको उनले बताएका छन्।
यसैबीच जोन्सनले सामाजिक सञ्जालमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भइरहेको आक्रमणप्रति आक्रोश व्यक्त गरेका छन्। उनले युक्रेनलाई तत्काल थप वायु रक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गरेका छन्।
युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र र जेटद्वारा सञ्चालित ड्रोनबाट हुने आक्रमण रोक्न थप प्रतिरक्षा प्रणाली आवश्यक रहेको भन्दै विशेषगरी अमेरिकासँग इन्टरसेप्टर उपलब्ध गराउन आग्रह गर्दै आएको छ।

