काठमाडौं, भदौ ३० । जलवायु परिवर्तनका कारण हिमालदेखि तराईसम्म परेको प्रभाव र त्यसको सामना गर्ने उपायबारे छलफल गर्न मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ।
घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले गर्ने कार्यक्रम छ। सम्मेलनमा सहभागी हुन सातै प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिसहित ४२१ स्थानीय तह तथा ३६ जिल्ला समन्वय समितिका प्रतिनिधि मुस्ताङ पुगेका छन्।
घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार सोमबार साँझसम्म दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेका छन्। जलवायु परिवर्तनको विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप ध्यानाकर्षण गराउने उद्देश्यले गाउँपालिकाले पहिलोपटक यस्तो सम्मेलन आयोजना गरेको हो।
सम्मेलनमा हिमाली, पहाडी र तराई क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, स्थानीयस्तरमा उत्पन्न चुनौती तथा त्यसको न्यूनीकरण र सामना गर्ने उपायबारे छलफल हुनेछ। जलवायुजन्य जोखिम सामना गर्न स्थानीय तहबीच सहकार्य र सामूहिक प्रतिबद्धता विकास गर्ने विषयलाई पनि सम्मेलनमा प्राथमिकता दिइनेछ।
सम्मेलनबाट जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलनका लागि साझा प्रतिबद्धता समेटिएको ‘घरपझोङ घोषणापत्र २०८३’ जारी गर्ने तयारी गरिएको छ।
सम्मेलन सफल बनाउन घरपझोङ गाउँपालिकाका पाँचवटै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब तथा विभिन्न संघसंस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिनुभयो।

