बर्डफ्लु प्रकरण : चिडियाखाना प्रमुख साह जिम्मेवारीबाट हटाइए, छानबिन समिति गठन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । सदर चिडियाखाना जावलाखेलमा फैलिएको बर्डफ्लु (एच फाइभ एन वान) संक्रमणबारे समयमै जानकारी नदिएको आरोपमा चिडियाखाना प्रमुख सत्यनारायण साहलाई जिम्मेवारीबाट हटाइएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले वन्यजन्तुको सुरक्षा र संवेदनशील सूचना व्यवस्थापनमा लापरबाही भएको भन्दै साहलाई केन्द्रीय कार्यालयमा तानेको जनाएको छ। उनको स्थानमा वरिष्ठ अधिकृत बाबुलाल तिरुवालाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ।
बर्डफ्लु संक्रमणको कारण पत्ता लगाउन कोषले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रवक्ता एवं प्रजाति विभाग प्रमुख रचना शाहको संयोजकत्वमा बनेको समितिमा प्रशासन प्रमुख हरिविक्रम सिंह र संरक्षण क्षेत्र विभाग प्रमुख डा. मधु क्षेत्री सदस्य रहेका छन्।
समितिलाई एक साताभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।
पशु सेवा विभागमा गरिएको नमुना परीक्षणबाट चिडियाखानाका विभिन्न जीवजन्तुमा बर्डफ्लु पुष्टि भएको थियो। केही दिनदेखि पन्छी र जनावर मर्ने क्रम जारी रहे पनि समयमै केन्द्रीय कार्यालयलाई जानकारी नगराइएको आरोप छ।
संक्रमणका क्रममा बकुल्ला, लाटोकोसेरो, गिद्धलगायत पन्छी तथा नीरबिरालो र चरीबाघमा समेत बर्डफ्लु देखिएको जनाइएको छ।
चिडियाखानामा पछिल्ला घटनाक्रम र संवेदनशील रोगको सूचना लुकाइएको विषयमा विभागीय अनुसन्धान अघि बढाइएको कोषले जनाएको छ।

Leave a Comment