१० चौत,काठमाडौं : नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयमा विवाद देखिएको छ। एकातिर देउवा पक्षले सर्वोच्च अदालतको फैसला नआएसम्म नियमित महाधिवेशन गर्न नहुने बताएको छ भने अर्कोतर्फ सभापति गगनकुमार थापाले महाधिवेशनको कार्यतालिका अघि सारेका छन्।
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारितासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला नभएसम्म नियमित महाधिवेशन गर्न नहुने अडान राखेको हो।
देउवा पक्षका नेता श्यामकुमार घिमिरेले मंगलबार प्रतिक्रिया दिँदै अदालतको फैसला आएपछि जुन पक्षलाई आधिकारिता प्राप्त हुन्छ, त्यसकै नेतृत्वमा महाधिवेशन गर्नुपर्ने बताए। उनले पार्टीभित्रका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको पनि उल्लेख गरे।
घिमिरेले सर्वोच्च अदालतलाई उक्त मुद्दामा छिटो फैसला दिन आग्रह गर्दै ढिलाइ हुँदा अदालतप्रतिको जनविश्वास कमजोर हुन सक्ने चेतावनी दिए। साथै उनले देउवालाई बेवास्ता गर्दा नेपाली कांग्रेसले निर्वाचनमा लज्जास्पद हार व्यहोर्नुपरेको आरोप समेत लगाए।
यता, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भने आगामी भदौ अन्तिम साता पार्टीको १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेका छन्। बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदौ २४ गते महाधिवेशन उद्घाटन गर्ने लक्ष्य राखिएको छ।
प्रस्तावित कार्यतालिकाअनुसार चैत २१ गतेबाट महाधिवेशन प्रक्रिया सुरु हुनेछ। २०८३ वैशाख १ गतेदेखि देशभरका ६ हजार ७४३ वडामा क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गरिनेछ। सोही दिनदेखि वडा र क्षेत्रीय कार्यसमितिलाई युजर आईडी र पासवर्ड उपलब्ध गराउने योजना पनि रहेको छ।
यसबाट पार्टीको सांगठनिक संरचनालाई प्रविधिमैत्री बनाउँदै तल्लो तहसम्म डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य लिइएको छ।
कार्यतालिकाअनुसार साउन ६ गते वडा अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, भदौ ६ र ७ गते जिल्ला अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ।


