काठमाडौं । काठमाडौंको बालकुमारीमा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेपछि गोली प्रहार गरी उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली टीकापुर–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ–३ का २० वर्षीय निरजकुमार मण्डल र पर्सा पटेर्वा सुगौली–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका छन्।
प्रहरीले काठमाडौं उपत्यकामा लागूऔषध सप्लाई गर्ने समूहको निगरानी गरिरहेको अवस्थामा बालकुमारी पुलमुनि उनीहरूलाई खैरो हेरोइनसहित फेला पारेको जनाएको छ।
पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमण गरी भाग्न खोजेपछि चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरिएको र नरोकेपछि ओझैयाको खुट्टामा गोली लागेर उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घाइते ओझैयाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। प्रहरीले उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र चार थान मोबाइल बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका ओझैया यसअघि पनि लागूऔषध मुद्दामा सजाय भुक्तान गरी कारागारबाट छुटेका व्यक्ति हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ।
बालकुमारीमा लागूऔषध गिरोहविरुद्ध प्रहरी एक्सन, गोली चलाएर तीन जना नियन्त्रणमा
Leave a Comment
Leave a Comment






