डेब्यु टोली केप भर्डेको दमदार प्रदर्शन, विश्व विजेता उरुग्वेसँग २–२ को बराबरी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ मा डेब्यु गरिरहेको केप भर्डेले आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ। नवप्रवेशी टोलीले दुई पटकको विश्वकप विजेता उरुग्वेलाई रोमाञ्चक खेलमा २–२ गोलको बराबरीमा रोक्दै सबैलाई चकित पारेको हो।
मियामी स्टेडियममा भएको खेलमा केप भर्डेले सुरुवातमै उरुग्वेलाई दबाबमा राख्यो। खेलको २१औँ मिनेटमा केभिन पिनाले गोल गर्दै केप भर्डेलाई अग्रता दिलाए।
तर अनुभवी उरुग्वेले पहिलो हाफको अन्त्यतिर खेल उल्ट्यायो। ४४औँ मिनेटमा माक्सी आराउजोले बराबरी गोल गरे भने इन्जुरी समयको छैटौँ मिनेटमा अगस्टिन कानोबियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफमा भने केप भर्डे थप आक्रामक देखियो। ६१औँ मिनेटमा मैदान प्रवेश गरेका हेलियो वारेलाले केही समयमै गोल गर्दै खेललाई पुनः बराबरीमा ल्याए।
त्यसपछि दुवै टोलीले जितका लागि आक्रमण बढाए पनि थप गोल हुन सकेन। उरुग्वेका डार्विन नुनेज र फेडेरिको भाल्भर्डेले अवसर सिर्जना गरे पनि केप भर्डेका गोलरक्षक र रक्षापङ्क्तिले उत्कृष्ट प्रदर्शन गरे।
अन्तिम समयमा केप भर्डेले विजयी गोलको अवसर पाए पनि उरुग्वेका रोद्रिगो बेन्टानकुरको निर्णायक ट्याकलले खतरा टारेको थियो।
यसअघि स्पेनलाई गोलरहित बराबरीमा रोकेको केप भर्डेले उरुग्वेसँग पनि अंक बाँड्दै विश्वकपमा आफ्नो बलियो उपस्थितिको संकेत दिएको छ। दुई खेलपछि दुवै टोलीको खातामा २–२ अंक रहेको छ।
अब समूह चरणको अन्तिम खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ भने केप भर्डेले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ।

Leave a Comment