२२ असोज २०८३, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय फेरि सरेको छ ।
निर्वाचन समितिले अब दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको छ ।
मतदानका लागि आवश्यक तयारी पूरा हुन नसकेपछि यसअघि तय भएको समय पटक–पटक परिवर्तन गरिएको हो । सुरुमा बिहान १० बजेबाट मतदान गर्ने भनिएको थियो । त्यसपछि समय दिउँसो १ बजेसम्म सारिएको थियो ।
तर १ बजेसम्म पनि मतदान सुरु गर्ने अवस्था नबनेपछि निर्वाचन समितिले पदाधिकारीका उम्मेदवारहरूसँग छलफल गरेको थियो । छलफलपछि दिउँसो २ बजेदेखि मतदान सुरु गर्ने सहमति भएको उपसभापतिका समावेशी उम्मेदवार रन्जित कर्णले जानकारी दिएका छन् ।
निर्वाचन समितिले राष्ट्रिय सभा गृहमा सभापति, उपसभापति, महामन्त्रीलगायत पदाधिकारीका उम्मेदवारहरूसँग मतदानको समय र तयारीबारे छलफल गरेको थियो ।
महाधिवेशन सुरु भएको पाँचौँ दिन आज नयाँ नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । मतदानको समय पटक–पटक सर्दा महाधिवेशन प्रतिनिधिहरू भने मतदानस्थलमा प्रतीक्षामा रहेका छन् ।
निर्वाचन समितिले आवश्यक तयारी पूरा गरेर दिउँसो २ बजेबाट मतदान प्रक्रिया अघि बढाउने जनाएको छ ।

