डोल्पाको गैरीगाउँमा भीषण बाढी, एक महिलाको मृत्यु, ६ जना घाइते

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

डोल्पा, असार २१ — लगातारको वर्षापछि डोल्पाको जगदुल्ला गाउँपालिका–५ गैरीगाउँमा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ। बाढीमा परी एक महिलाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शनिबार रातिदेखिको अविरल वर्षासँगै धुलाखोला र आसपासका खहरेमा आएको हिलोमिश्रित बाढी आइतबार बिहान करिब ३ बजे बस्तीमा पसेको थियो।
बाढीले बगाउँदा स्थानीय अन्दाजी ५६ वर्षीया आनन्दी विकको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते भएका ६ जनाको उद्धार गरी उपचारको व्यवस्था गरिएको छ।
घटनालगत्तै नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यमा जुटेको छ। बाढीका कारण केही घरमा क्षति पुगेको र भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय प्रशासनले नदी तथा खोलानालाको सतह बढिरहेका कारण तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको मूल्यांकन कार्य जारी रहेको छ।

Leave a Comment