बारा, असार ३० – बाराको निजगढमा मिटरब्याज पीडित र गृहमन्त्री सुधन गुरुङबीच दोस्रो चरणको वार्ता सम्पन्न भएको छ। प्रधानमन्त्रीस्तरीय छलफलको निष्कर्षपछि तेस्रो चरणको वार्ता बस्ने सहमतिसँगै मंगलबारको छलफल टुंगिएको हो।
मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनकी अभियन्ता लक्ष्मी घिमिरेका अनुसार पीडित पक्षले अघि सारेका ६ बुँदे मागबारे हाल प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको छ। सो छलफलको निष्कर्ष प्राप्त भएपछि गृहमन्त्री र आन्दोलनरत पक्षबीच पुनः वार्ता हुने तय भएको छ।
वार्ताका क्रममा गृहमन्त्री गुरुङले मिटरब्याज समस्या अध्ययनका लागि गठन गरिएका गौरिबहादुर कार्की आयोग, तेजबहादुर कार्की आयोग र बाबुराम रेग्मी आयोगका प्रतिवेदन तत्काल सार्वजनिक गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।
बैठकमा सरकार र आन्दोलनरत पक्षले आ–आफ्ना प्रस्ताव र मागबारे थप गृहकार्य गर्ने सहमति गरेका छन्। तर, माग सम्बोधनका विषयमा सरकारसँग लिखित सहमति नभएसम्म आन्दोलन नरोकिने पीडित पक्षले स्पष्ट पारेको छ।
अभियन्ता लक्ष्मी घिमिरेले लिखित सहमति हुन नसके जनकपुरधामबाट सुरु गरिएको काठमाडौं केन्द्रित ‘पैदल न्याय मार्च’ पुनः अघि बढाइने चेतावनी दिएकी छन्।
मिटरब्याज पीडितहरूले असार २५ गते जनकपुरधामको ऐतिहासिक तिरहुतियागाछीबाट काठमाडौंसम्म पैदल न्याय मार्च सुरु गरेका हुन्। उनीहरूको मुख्य मागमा फर्जी तमसुक, दृष्टिबन्धक, रजिस्ट्रेसन तथा चेकलगायतका लिखत खारेज, प्रभावकारी कानुन निर्माण, विशेष न्यायाधिकरण गठन तथा विगतमा भएका सम्झौताको पूर्ण कार्यान्वयन रहेका छन्।
मिटरब्याज पीडितसँग दोस्रो चरणको वार्ता सम्पन्न, तीन आयोगको प्रतिवेदन सार्वजनिक गर्न गृहमन्त्रीको निर्देशन
Leave a Comment
Leave a Comment

