अमेरिका–इरान तनाव थप चर्कियो, ट्रम्पले ‘ठूलो सैन्य आक्रमण’को संकेत दिए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, साउन ८ — अमेरिका र इरानबीचको तनाव फेरि उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अहिलेसम्मकै ठूलो सैन्य कारबाहीको तयारी पूरा भइसकेको दाबी गर्दै अन्तिम निर्णय लिन मात्र बाँकी रहेको बताएका छन्।
ट्रम्पका अनुसार अमेरिकी सैन्य संयन्त्र आवश्यक तयारीमा जुटिसकेको छ। उनले इरानले अझै पर्याप्त दबाब महसुस नगरेको टिप्पणी गर्दै आवश्यक परे थप कठोर कदम चालिने संकेत दिएका छन्।
अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलगत्तै इरानले कडा प्रतिक्रिया जनाएको छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिका थप सैन्य कारबाहीमा उत्रिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। उनले वर्तमान संकटको समाधान युद्ध नभई कूटनीतिक वार्ता भएको दोहोर्‍याएका छन्।
यसैबीच, सम्भावित क्षेत्रीय अस्थिरतालाई ध्यानमा राख्दै बेलायतले आफ्ना सेनालाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ। सरकारले राष्ट्रिय सुरक्षाका लागि आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी तयारी गरिएको उल्लेख गरेको छ।
यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकाले बेलायती सैन्य अड्डा प्रयोग गरे बेलायत पनि प्रतिआक्रमणको दायरामा पर्ने चेतावनी दिएको थियो।
अमेरिका र इरानबीच बढ्दो आरोप–प्रत्यारोप र सैन्य तयारीका संकेतले मध्यपूर्वमा थप तनाव सिर्जना हुने चिन्ता बढेको छ।

Leave a Comment