किभ, साउन ९ — युक्रेनको राजधानी किभ नजिक आयोजना गरिएको ड्रोन प्रविधि प्रदर्शनीलाई लक्षित गर्दै रुसले गरेको ब्यालिस्टिक मिसाइल आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार शनिबार दिउँसो भएको आक्रमणका बेला प्रदर्शनीस्थलमा रक्षा क्षेत्रका उच्च अधिकारी तथा ड्रोन प्रविधिका विज्ञहरू सहभागी थिए। आक्रमणबाट सबैभन्दा बढी क्षति प्रदर्शनीस्थलमै भएको र त्यहाँ मात्रै १० जनाले ज्यान गुमाएको उनले बताए।
यसैबीच, पूर्वी युक्रेनको स्लोभियान्स्क शहरमा रुसी ग्लाइड बम आक्रमणमा थप पाँच जनाको मृत्यु भएको छ। उत्तरी सुमी शहरमा पनि आक्रमणका कारण दुई जनाको ज्यान गएको युक्रेनी सैन्य अधिकारीहरूले जनाएका छन्।
आक्रमण हुनुभन्दा एक दिनअघि राष्ट्रपति जेलेन्स्कीले युक्रेनी गुप्तचर निकायले रुसले ४८ घण्टाभित्र ठूलो मिसाइल आक्रमण गर्न सक्ने सूचना दिएको बताएका थिए।
युक्रेनी वायुसेनाका प्रवक्ता युरी इहनातका अनुसार किभ क्षेत्रमा रुसले तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो। तीमध्ये एउटा मात्रै युक्रेनको हवाई प्रतिरक्षा प्रणालीले खसाल्न सफल भएको थियो।
उता, रुसी रक्षा मन्त्रालयले पनि आक्रमणको पुष्टि गर्दै युक्रेनले रुसमाथि आक्रमण गर्न प्रयोग हुने ड्रोनसम्बन्धी गतिविधि भइरहेको स्थललाई उच्च सटीकतायुक्त लामो दूरीका हतियारबाट निशाना बनाइएको दाबी गरेको छ। उक्त स्थलमा ड्रोन निर्माता, युक्रेनी ड्रोन फोर्सका प्रतिनिधि तथा सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको पनि रुसको दाबी छ।
सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता सार्वजनिक रूपमा आयोजना गरिएको ड्रोन प्रदर्शनीमाथि भएको यो तेस्रो आक्रमण हो। कार्यक्रमको व्यापक प्रचारप्रसार गरिएकाले युक्रेनभित्रै यसको आलोचना समेत भएको छ।
घटनापछि युक्रेनको महान्यायाधिवक्ताको कार्यालयले प्रदर्शनी आयोजना गर्ने निर्णय कसले गर्यो र सुरक्षा व्यवस्था पर्याप्त थियो वा थिएन भन्ने विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ।
यसैबीच, रुसले युक्रेनी आक्रमणमा किरोभ शहरस्थित एक सैन्य–औद्योगिक केन्द्रमा छ जनाको मृत्यु भएको र २६ जना घाइते भएको जनाएको छ। युक्रेनले रुसको प्रमुख अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजका गोदामहरूमा पनि ड्रोन आक्रमण गरेको बताइएको छ।
राष्ट्रपति जेलेन्स्कीले किरोभमा निशाना बनाइएको कारखानामा रुसले युद्धमा प्रयोग गर्ने विमान तथा मिसाइलका महत्वपूर्ण पुर्जा उत्पादन हुने बताएका छन्। पछिल्ला दिनहरूमा युक्रेनले तेल भण्डारण केन्द्रभन्दा पनि रसद आपूर्ति केन्द्रहरूलाई लक्षित गर्दै आएको उनको भनाइ छ।
यसैबीच, राष्ट्रपति जेलेन्स्की आगामी साता अमेरिका भ्रमणमा जाने तयारीमा छन्। भ्रमणका क्रममा उनले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त भेटमा युक्रेन–रुस युद्ध अन्त्यका लागि शान्ति वार्तालाई पुनः अघि बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
यता, रोमानियाका राष्ट्रपति निकुसोर डानले आफ्नो देशको हवाई क्षेत्रमा प्रवेश गरेको एक रुसी ड्रोनलाई रोमानियाली एफ–१६ लडाकु विमानले खसालेको बताएका छन्। त्यसअघि रोमानियाले पूर्वी तथा दक्षिणपूर्वी क्षेत्रमा हवाई जोखिमको चेतावनी जारी गरेको थियो।
किभ नजिक रुसी ब्यालिस्टिक मिसाइल आक्रमण : १५ जनाको मृत्यु, करिब १०० घाइते
Leave a Comment
Leave a Comment

