विश्वकप लिग–२ मा नेपालको आज नामिबियासँग निर्णायक भिडन्त

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, साउन ११ — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्ड्समा जारी त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज नामिबियाको सामना गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।
नेपालका लागि यो खेल अत्यन्तै महत्वपूर्ण मानिएको छ। जारी शृङ्खलाका पहिलो दुई खेलमा नेपालले लगातार हार बेहोरेको छ। पहिलो खेलमा नामिबियासँग ८ विकेटले तथा दोस्रो खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएपछि टोलीमाथि दबाब थपिएको हो।
विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नुपर्ने अवस्था छ। लिग–२ मा सहभागी आठ टोलीमध्ये शीर्ष चार टोलीले ग्लोबल छनोटमा सिधै प्रवेश पाउनेछन् भने बाँकी चार टोलीले प्लेअफ खेल्नुपर्नेछ।
हाल नेपाल ३० खेलबाट २४ अंकसहित तालिकाको पाँचौँ स्थानमा छ। नेपालले यस शृङ्खलापछि ओमानमा हुने अन्तिम चरणसहित कुल ६ खेल खेल्न बाँकी छ। शीर्ष चारमा उक्लिन नेपालले यी सबै खेल जित्नुपर्ने चुनौती छ। सबै खेल जिते नेपाल ३६ अंकमा पुग्नेछ र ग्लोबल छनोटको सम्भावना बलियो बन्नेछ। यदि एक खेल पनि गुमेमा अन्य टोलीको नतिजा र नेट रनरेटमा भर पर्नुपर्ने अवस्था आउनेछ।
यस्तै, नेपालका लागि एकदिवसीय (ODI) मान्यता जोगाउनु पनि उत्तिकै महत्वपूर्ण चुनौती बनेको छ। लिग–२ को शीर्ष ६ भित्र रहे मात्र ओडीआई मान्यता सुरक्षित रहने भएकाले नेपालले बाँकी ६ खेलमध्ये कम्तीमा ४ खेल जित्नुपर्ने दबाब छ। त्यसभन्दा कम जित हासिल भए ओडीआई मान्यता गुम्ने जोखिम बढ्नेछ।
त्यसैले आजको नामिबियाविरुद्धको खेल नेपालका लागि केवल एक जितको खोजी मात्र होइन, विश्वकप छनोटको आशा र ओडीआई मान्यता जोगाउने अभियानको निर्णायक सुरुआतका रूपमा हेरिएको छ।

Leave a Comment