काठमाडौं । प्रस्तावित शिक्षा ऐनलाई थप सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यले शिक्षा मन्त्रालयले सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ।
मन्त्रालयले सुरु गर्न लागेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत पहिलो कार्यक्रम शनिबार विराटनगरमा हुँदैछ। विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा स्थानीय तहका शिक्षा प्रतिनिधिसहित विभिन्न सरोकारवालाको सहभागिता रहनेछ।
मन्त्रालयका अनुसार अभियानअन्तर्गत कोशी प्रदेशको विराटनगरपछि मधेसको जनकपुर, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि संवाद कार्यक्रम सञ्चालन गरिनेछ।
कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटालगायत अधिकारी सहभागी हुनेछन्। छलफलका क्रममा शिक्षा क्षेत्रसँग सम्बन्धित समस्या, आवश्यकता र सुधारका विषयमा सरोकारवालाबाट सुझाव संकलन गरिने मन्त्रालयले जनाएको छ।
शिक्षा ऐन निर्माणअघि प्रदेश तथा स्थानीय तहसम्म पुगेर प्रत्यक्ष सुझाव लिने र प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
मन्त्रालयले शिक्षा ऐनलाई सरोकारवालाको सहभागितामा अघि बढाउन प्रदेशस्तरका संवादलाई महत्वपूर्ण माध्यमका रूपमा लिएको छ।
शिक्षा ऐनअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’, सरोकारवालाको सुझाव लिँदै मन्त्रालय
Leave a Comment
Leave a Comment

