नेतन्याहुको यूएई भ्रमणपछि इरानको चेतावनी, ‘क्षेत्रीय अस्थिरता बढाउने गतिविधि रोकियोस्’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज १४-इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणपछि इरानले पश्चिम एसियाली मुलुकहरूलाई क्षेत्रीय तनाव र अस्थिरता बढाउने गतिविधिबाट टाढा रहन आग्रह गरेको छ।

इरानको विदेश मन्त्रालयले मंगलबार राति जारी गरेको विज्ञप्तिमा नेतन्याहुको यूएई भ्रमणप्रति असन्तुष्टि जनाउँदै क्षेत्रीय सुरक्षाको जिम्मेवारी सबै मुलुकको साझा भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा कुनै पनि त्यस्तो गतिविधि वा सहकार्यले बाह्य शक्तिलाई क्षेत्रभित्र थप सक्रिय हुने वातावरण बनाए त्यसको असर सम्पूर्ण क्षेत्रले भोग्नुपर्ने चेतावनी दिइएको छ।

इरानले यस्ता गतिविधिले पश्चिम एसियामा विभाजन, असुरक्षा र अस्थिरता थप गहिरिन सक्ने दाबी गरेको छ। साथै, क्षेत्रका सरकारहरूले शान्ति तथा स्थायित्व कायम गर्ने आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिएको छ।

तेहरानले अन्य देशका सरकारलाई इजरायलको प्रभाव विस्तार हुने गतिविधिका लागि आफ्नो भूमि प्रयोग हुन नदिन पनि आग्रह गरेको छ। आफ्नो भूभागलाई अर्को मुलुकविरुद्ध हुने गतिविधिको आधार बन्न नदिन इरानले आह्वान गरेको हो।

यसअघि नेतन्याहुले आइतबार यूएईको भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानसँग भेटवार्ता गरेका थिए।

तर, नेतन्याहुको यूएई भ्रमणबारे इजरायली प्रधानमन्त्री कार्यालयले औपचारिक रूपमा दुई दिनपछि मात्रै पुष्टि गरेको थियो।

Leave a Comment