काठमाडौँ, असोज १३-पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउसँग जोडिएको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कासँग बयान लिएको छ।
आयोगले मंगलबार एसएसपी खड्कालाई कार्यालयमा बोलाएर घटनासम्बन्धी विषयमा जानकारी तथा स्पष्टीकरण लिएको हो। आयोगका प्रवक्ता टीकाराम ढकालका अनुसार खड्का बिहान साढे ११ बजे आयोगको कार्यालय पुगेका थिए।
जबरालाई पक्राउ गरिएपछि घटनाको अनुगमन गर्न पुगेको आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएको विषयमा आयोगले छानबिन अघि बढाएको हो।
आयोगले आफ्नो संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमन गर्न खोज्दा प्रहरीबाट अवरोध भएको जनाएको छ। आयोगका अनुसार राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ ले आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था र अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने अधिकार दिएको छ।
मानव अधिकार संरक्षणका लागि सम्बन्धित निकायमा सुधार आवश्यक देखिए सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत ऐनले आयोगलाई दिएको आयोगको भनाइ छ।
अनुगमनमा अवरोध पुर्याएर संवैधानिक तथा कानुनी दायित्व पूरा गर्न नदिने प्रहरी कर्मचारीमाथि कानुनी कारबाहीको दायरामा ल्याउन पनि आयोगले सरकारसँग आग्रह गरिसकेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई शनिबार राति करिब २ बजे निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेको भोलिपल्ट आइतबार दिउँसो करिब २ बजे उनलाई रिहा गरिएको थियो।
पक्राउ र रिहाइको घटनापछि आयोगले प्रहरीको कारबाही तथा आफ्नो अनुगमन टोलीमाथि भएको व्यवहारबारे चासो देखाउँदै अनुसन्धान अघि बढाएको हो।

