काठमाडौँ, असोज १४-संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागिता जनाएर परराष्ट्रमन्त्री शिशिर खनाल बुधबार बिहान स्वदेश फर्किएका छन्। उनी प्रधानमन्त्री वालेन्द्र शाह स्वदेश फर्किएको चार दिनपछि नेपाल आएका हुन्।
प्रधानमन्त्री शाह असोज १० गते न्युयोर्कबाट नेपाल फर्किएका थिए भने परराष्ट्रमन्त्री खनाल महासभासँग सम्बन्धित विभिन्न उच्चस्तरीय कार्यक्रम तथा द्विपक्षीय भेटवार्तामा सहभागी भएर बुधबार स्वदेश फर्किएका हुन्।
खनाल असोज ४ गते महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले नेपालको तर्फबाट जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय विशेष कार्यक्रम आयोजना गरेका थिए।
‘सगरमाथादेखि समुद्रसम्मः जलवायु उत्थानशील भविष्यका लागि आवश्यक कार्यको आह्वान’ विषयमा आयोजित उक्त कार्यक्रममा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेका चुनौती र जलवायु उत्थानशील भविष्यका लागि आवश्यक अन्तरराष्ट्रिय सहकार्यबारे धारणा प्रस्तुत गरेको थियो।
महासभाको अवसरमा मन्त्री खनालले विभिन्न मुलुकका समकक्षीसँग भेटवार्ता गर्नुका साथै द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र सहकार्यका विषयमा छलफल गरेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार महासभामा नेपालको सक्रिय सहभागिता र विभिन्न मुलुकसँग भएका उच्चस्तरीय संवादले अन्तरराष्ट्रिय तहमा नेपालको प्राथमिकता र चासो प्रस्तुत गर्न सहयोग पुगेको छ।
यूएन महासभा सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए
Leave a Comment
Leave a Comment

