बारा, सिमरा — बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ सिमरा चोकबाट प्रहरीले २ किलो ७०० ग्राम अफिमजस्तो देखिने लागूऔषधसहित श्रीमान–श्रीमतीलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्ज, पर्सा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो करिब १ः०५ बजे सिमरा चोकमा शंकास्पद रूपमा हिँडिरहेका रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका ४३ वर्षीय आइते सिंह जिम्बा र उनकी ४४ वर्षीया श्रीमती रोशनी राईलाई चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा रोशनी राईको साथबाट प्लास्टिकले बेरिएका तीन पोका फेला परेका थिए। ती पोकामा अफिमको चोपजस्तो देखिने पदार्थ रहेको प्रहरीले जनाएको छ। प्लास्टिकबाहेक तौल गर्दा उक्त पदार्थ २ किलो ७०० ग्राम रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
प्रहरीले बरामद पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिमरामार्फत थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

