उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सोमबार बिहान करिब पौने १० बजे सुपाडेबाट लालबजारतर्फ जाँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस आपसमा ठोक्किएका थिए।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए। घाइते सबैलाई तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारका क्रममा बेलका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार अर्की एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन।
दुर्घटनामा अटो चालक बेलका–५ का करिब २८ वर्षीय इन्द्र थापा गम्भीर घाइते भएका छन्। विराटनगर महानगरपालिका–१२ का १९ वर्षीय अजित गुरुङको अवस्था मध्यम रहेको छ भने बेलका–५ का १८ वर्षीय रोशन मगर पनि गम्भीर घाइते छन्। तीनै जनाको धरानस्थित सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न स्कुल बस र चालक बेलका–५ का करिब ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन जना घाइते
Leave a Comment
Leave a Comment

