NICCI वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भारत उद्योग वाणिज्य संघ (NICCI) वीरगञ्ज च्याप्टर र नारायणी सेन्ट्रल हस्पिटल वीरगञ्ज प्रा.लि.बीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार NICCI का सदस्य, बोर्ड सदस्य, कर्मचारी तथा कामदार र उनीहरूका योग्य प्रत्यक्ष आश्रित परिवारका सदस्यले नारायणी सेन्ट्रल हस्पिटलबाट विशेष स्वास्थ्य सेवा तथा विभिन्न छुट सुविधा पाउनेछन्।
सम्झौताअन्तर्गत NICCI का लाभग्राहीलाई अस्पतालको ओपीडी सेवामा २० प्रतिशत, बेडमा २० प्रतिशत, प्रयोगशाला तथा डायग्नोस्टिक सेवामा २० प्रतिशत र औषधिमा ५ प्रतिशत छुट उपलब्ध गराइनेछ।
त्यस्तै, औद्योगिक दुर्घटना तथा आकस्मिक घटनाका समयमा आवश्यक आपत्कालीन व्यवस्थापन (इमर्जेन्सी म्यानेजमेन्ट) सहित तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था पनि सम्झौतामा समेटिएको छ। उच्चस्तरीय व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूका लागि भीआईपी लाउन्ज तथा प्राथमिकताका आधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ।
सम्झौतामा नारायणी सेन्ट्रल हस्पिटलका एमडी डा. पवन पटेल र NICCI वीरगञ्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले आ–आफ्नो संस्थाका तर्फबाट हस्ताक्षर गरेका छन्।
सम्झौता हस्ताक्षर कार्यक्रममा दुवै संस्थाका गरी ६ जना सदस्य तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
NICCI वीरगञ्ज च्याप्टरले उद्योगी, व्यवसायी, कर्मचारी तथा कामदारको स्वास्थ्य र कल्याणलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता सहयोग तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Leave a Comment