कलैया, २५ असोज। चाडपर्वका बेला सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने नागरिकले भोग्नुपर्ने बढी भाडा, सामान हराउने तथा सुरक्षासम्बन्धी समस्या तत्काल समाधान गर्ने उद्देश्यले बारामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
जिल्लाको सदरमुकाम कलैयास्थित भरत चोकमा आइतबार प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सहायता कक्षको उद्घाटन गरेका हुन्। चाडपर्वमा यात्रुको चाप बढ्ने समयमा यात्रालाई सुरक्षित, सहज र व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको योजना तथा ट्राफिक प्रहरीको आयोजनामा बाराका चार स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।
सहायता कक्षमार्फत यात्रुले सवारीसाधनले बढी भाडा लिएको, सामान हराएको, यात्रा गर्दा असुरक्षा महसुस भएको वा अन्य कुनै समस्या भोग्नुपरेमा गुनासो राख्न सक्नेछन्। प्रहरीले प्राप्त गुनासो तत्काल सम्बोधन गर्ने उद्देश्य राखेको छ।
उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अधिकारीले नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण बनाउनु सहायता कक्षको मुख्य उद्देश्य रहेको बताए। उनले यात्रु, यातायात व्यवसायी, चालक तथा सहचालकलाई कुनै समस्या भएमा सहायता कक्षमा गुनासो राख्न आग्रह गरे।
उनले बडादसैँ, तिहार र छठजस्ता ठूला चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले सम्भावित समस्या न्यूनीकरण गर्न सहायता कक्ष प्रभावकारी हुने अपेक्षा व्यक्त गरे।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले यात्रुको आवागमन व्यवस्थित गर्न र सार्वजनिक सवारीसाधनलाई नियमन गर्न ट्राफिक प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताए। उनका अनुसार जिल्ला प्रहरी कार्यालयको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।
कुँवरले यात्राका क्रममा कुनै समस्या परेमा सहायता कक्षमा सम्पर्क गर्न आग्रह गर्दै यात्रुको शान्तिसुरक्षा र सामानको सुरक्षाका लागि प्रहरीले आवश्यक सहयोग गर्ने बताए।
कार्यक्रममा बारा गढीमाई यातायात प्रालिका अध्यक्ष देवनन्द साह (सञ्जय) ले कलैयामा बिना चालक अनुमतिपत्र र रुट परमिट अटो सञ्चालन हुने गरेको विषय उठाउँदै त्यसको नियमन गर्न ट्राफिक प्रहरीलाई आग्रह गरे। उनले अटोमा यात्रा गर्दा यात्रुका सामान छुट्ने समस्या पनि देखिने गरेको उल्लेख गर्दै यात्रुलाई सम्बन्धित सवारीसाधनमा मात्र यात्रा गर्न सुझाव दिए।
अस्थायी ट्राफिक प्रहरी पोस्ट कलैयाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रिन्शानन्द यादवका अनुसार सहायता कक्षमा सार्वजनिक सवारीसाधनको भाडादरसम्बन्धी विवरणसमेत राखिएको छ। २०८३ वैशाख १६ गते कायम गरिएको छोटो, मध्यम तथा लामो दूरीका अन्तरप्रदेशीय मार्गको भाडादर यात्रुले हेर्न सक्ने व्यवस्था गरिएको उनले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले चाडपर्वका बेला हुन सक्ने भाडा वृद्धि, चोरी तथा अन्य समस्याको तत्काल सुनुवाइ गर्न सहायता कक्ष सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार बाराका चार स्थानमा स्थापना गरिएका सहायता कक्षमा समुदाय–प्रहरी साझेदारी कार्यक्रमका प्रतिनिधिसमेत रहनेछन्।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धान कार्यालय बाराका उपनिर्देशक सरोज निरौला, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु, जेनजी युथ अफ बाराका सदस्य आनन्द गुप्तालगायतको सहभागिता थियो।
चाडपर्वको समयमा यात्रुले भोग्ने समस्या घटाउन सहायता कक्ष स्थापना गरिए पनि यसको प्रभावकारिता भने गुनासोमाथि हुने तत्काल सुनुवाइ, बढी भाडा लिने सवारीमाथिको कारबाही र नियमित अनुगमनमा निर्भर रहनेछ।
चाडपर्वमा यात्रु ठगिन नदिन कलैयामा सहायता कक्ष, चार स्थानमा प्रहरीको निगरानी
Leave a Comment
Leave a Comment

