काठमाडौं, असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा खुला उपसभापतितर्फ डा. चन्द्रकान्त भण्डारी र खुला
महामन्त्रीतर्फ प्रदीप पौडेलले आफ्नो अग्रता कायम राखेका छन्। महामन्त्रीको प्रतिस्पर्धामा उदयशम्शेर राणाले अमरसिंह पुनलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका छन्।
पछिल्लो मतगणनाअनुसार खुला उपसभापतिमा भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी मधु आचार्यले ७१२ मत पाउँदा सुरेन्द्रराज पाण्डेले ६८० र गोविन्द भट्टराईले ६०९ मत प्राप्त गरेका छन्।
यसैगरी धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र चन्द्रमोहन यादवले १९३ मत पाएका छन्।
समावेशी उपसभापतिमा विनोद चौधरी अगाडि
समावेशी उपसभापतितर्फ विनोदकुमार चौधरीले ६१५ मतसहित अग्रता लिएका छन्। जीवन परियारले ५७८ मत प्राप्त गरेका छन्। सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।
महामन्त्रीमा पौडेलको फराकिलो अग्रता
खुला महामन्त्रीतर्फ प्रदीप पौडेल १ हजार ३८१ मतसहित पहिलो स्थानमा छन्। उदयशम्शेर राणाले ७८६ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन्। यसअघि राणा अमरसिंह पुनभन्दा पछाडि थिए।
पुनले ६९५ मत प्राप्त गरेका छन्। त्यस्तै डा. सुनीलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८ र नैनसिंह महरले २७० मत पाएका छन्। शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत प्राप्त गरेका छन्।
महिला महामन्त्रीमा डिला र डिनाबीच कडा प्रतिस्पर्धा
महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला पन्तले ९६५ मत प्राप्त गर्दै अग्रता बनाएकी छन्। उनलाई महालक्ष्मी उपाध्याय ‘डिना’ ले ९५२ मतसहित पछ्याइरहेकी छन्। दुवैबीचको मतान्तर १३ मात्रै छ। रीता खनालले २५१ मत प्राप्त गरेकी छन्।
मतगणना जारी रहेकाले विभिन्न पदमा उम्मेदवारहरूको मतपरिणाम फेरिन सक्ने देखिएको छ। अन्तिम नतिजाले कांग्रेसको आगामी नेतृत्वमा रहने पदाधिकारीहरूको टुंगो लगाउनेछ।

