बाढीपीडितको उद्धार, उपचार र राहतका लागि सरकारका १० निर्ण
काठमाडौँ, भदौ १०। भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा घाइतेहरूको उद्धार, उपचार र राहतलाई प्रभावकारी बनाउन सरकारले विभिन्न निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा परी घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालय, नेपाली सेना तथा सरकारी अस्पतालमार्फत उपचारको व्यवस्था मिलाइने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बैठकले बाढीका कारण जोखिममा परेका तथा बिचल्लीमा परेकाहरूलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरसमेत परिचालन गरिने भएको छ।
घरबास गुमाएका परिवारलाई अस्थायी बसोबास तथा आवश्यक व्यवस्थापन गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित व्यवस्थापन समितिलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै, बाढीमा परी मृत्यु भएकाहरूका परिवारलाई प्रचलित कानुनअनुसार राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
बाढीका कारण अवरुद्ध भएका सडक तथा खानेपानी सेवा सञ्चालनमा ल्याउन सम्बन्धित मन्त्रालयलाई परिचालन गरिने भएको छ। विद्युत् आपूर्ति प्रभावित भएका क्षेत्रमा सेवा यथाशीघ्र सुचारु गर्न ऊर्जा मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
सरकारले उद्धारदेखि पुनःस्थापनासम्मका कामलाई तीव्रता दिँदै प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ।

