धादिङको गल्छी गाउँपालिका–४ चिरौदीमा त्रिशूली नदीको पानीको सतह बढेसँगै आएको बाढीले चार घरमा क्षति पुर्याएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार नदीमा पानीको बहाव बढेपछि चिरौदीका स्थानीयका घरमा क्षति पुगेको हो। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोलीलाई घटनास्थलतर्फ पठाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार चार घरमा क्षति पुगेको प्रारम्भिक सूचना प्राप्त भए पनि क्षतिको प्रकृति भने प्रहरी टोली घटनास्थलमा पुगेपछि मात्रै यकिन हुनेछ। घर पूर्ण रूपमा बगेका हुन् वा आंशिक क्षति भएको हो भन्नेबारे स्थलगत निरीक्षणपछि स्पष्ट हुने उनले बताइन्।
गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले पनि चिरौदीमा चार स्थानीयका घरमा क्षति पुगेको जानकारी प्राप्त भएको बताए। घटनाको थप विवरण संकलन गर्ने काम भइरहेको उनको भनाइ छ।
त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।
त्रिशूलीको बहाव बढ्दा धादिङको चिरौदीमा चार घर प्रभावित
Leave a Comment
Leave a Comment

