काठमाडौं, कात्तिक १६। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो।
सुदूरपश्चिमको जितमा ब्रेन्डन म्याकमुलनले आक्रामक ब्याटिङ गर्दै २१ बलमा ४३ रन बनाए। उनले ६ चौका र दुई छक्का प्रहार गरे। म्याकमुलनको आक्रामक प्रदर्शनले सुदूरपश्चिमलाई लक्ष्य पछ्याउन सहज बनाएको थियो।
म्याकमुलन आउट भएपछि सुदूरपश्चिम केही दबाबमा परे पनि इशान पाण्डे र आशिफ शेखले टोलीलाई जिततर्फ अघि बढाए। इशानले २९ बलमा दुई चौकासहित २५ रन बनाए भने आशिफ २० रनमा अविजित रहे। चितवनका रञ्जित कुमारले तीन विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। मौसम ढकाल र रिजन ढकालले समान एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरे।
चितवनको सुरुवात कमजोर रह्यो। देव खनाल सात रनमा आउट भए भने अर्जुन साउदले १५ रन बनाए। डेविड मालनले १६ रन जोड्दा कप्तान सिकन्दर राजा १५ रनमा पभेलियन फर्किए। विकेट नियमित रूपमा गुमाउँदा चितवनले ठूलो योगफल बनाउन सकेन।
चितवनका लागि बोपारा र सिकन्दर राजाबीच चौथो विकेटका लागि ३२ रनको साझेदारी भएको थियो। तर मध्यक्रमका ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा टोली १२९ रनमै सीमित भयो।
सुदूरपश्चिमका स्कट कुग्गेलिनले दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक विकेट लिए।
यस जितसँगै सुदूरपश्चिमले प्रतियोगितामा खेलेका चार खेलबाट दोस्रो जित निकालेको छ। चितवनले भने तीन खेलमा पहिलो हार बेहोरेको छ। चितवनले पहिलो खेलमा विराटनगर किङ्सलाई पराजित गरेको थियो भने दोस्रो खेल वर्षाका कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।
एनपीएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन्।

