काठमाडौँ, भदौ १४ — प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई राहत, उद्धार तथा पुनःस्थापनामा सरकार पूर्ण रूपमा साथमा रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले विपद्को कठिन अवस्थामा एकता र सामूहिक प्रयासबाट मात्रै संकटको सामना गर्न सकिने बताएका हुन्। उनले प्रभावित प्रत्येक नागरिकसम्म राज्यको सहयोग पुर्याउने र पुनर्निर्माण तथा पुनःस्थापनाको काम अपेक्षित परिणाम नआएसम्म निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
प्रधानमन्त्री शाहले प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र निरन्तरको जोखिमका बीच पनि नागरिकको जीवनरक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। आफन्त, घर तथा सम्पत्ति गुमाएका नागरिकको पीडा गम्भीर रहेको उल्लेख गर्दै उनले विपद्को यस घडीमा सरकार संवेदनशील भएर काम गरिरहेको बताए।
उनका अनुसार उद्धार तथा राहतका लागि सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरिएको छ। हालसम्म ९ हजार ४३५ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा सहज बनाउन काठमाडौँबाट चिकित्सकसहितको टोली परिचालन गरिएको छ। प्रभावित नागरिकका लागि उपचारसँगै मनोपरामर्शको व्यवस्था पनि मिलाइएको र बाढीका कारण बन्द भएका स्वास्थ्य संस्थाहरू पुनः सञ्चालनमा ल्याउने काम भइरहेको प्रधानमन्त्रीले बताएका छन्।
त्यस्तै, प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सञ्चालनमा आइसकेको जनाइएको छ। सडकमार्ग अवरुद्ध भएका क्षेत्रमा वैकल्पिक सडक सञ्चालन गरी प्रभावित बस्तीलाई पुनः जोड्ने प्रयास भइरहेको छ।
कृष्णभीर क्षेत्रमा सडक कटान भएपछि यातायात सेवा प्रभावित भएको पनि प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्। उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि दीर्घकालीन पुनर्निर्माणसम्म सरकार निरन्तर सक्रिय रहने बताएका छन्।
प्रधानमन्त्री शाहले संकटको सामना गर्न राज्य संयन्त्रसँगै नागरिक तहबाट समेत सामूहिक सहयोग र एकताको आवश्यकता रहेकोमा जोड दिएका छन्।

