भोटेकोशी विपत्तिको असर : सरकारको ‘बिल चिट्ठा’ कार्यक्रम तत्कालका लागि अन्योलमा

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं । देशमा आएको ठूलो विपत्तिपछि सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहनका लागि बिल चिट्ठा कार्यक्रम प्रभावित भएको छ। आज खोल्ने भनिएको चिट्ठाबारे अहिलेसम्म कुनै निर्णय नभएकाले कार्यक्रम तत्कालका लागि अन्योलमा परेको हो।

सरकारले बजेटमार्फत घोषणा गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ अनुसार वस्तु तथा सेवा खरिद–बिक्री गर्दा बिल–बीजक लिने–दिने संस्कृतिको विकास गर्ने उद्देश्यले प्रत्येक १५ दिनमा चिट्ठा खोल्दै आएको थियो।

सरकारले साउन महिनामा मात्रै दुईपटक चिट्ठा खोलेको थियो। त्यसक्रममा दुई जनाले जनही १० लाख रुपैयाँ र ३० जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले पुरस्कार पाएका थिए। पुरस्कार रकमबाट २५ प्रतिशत आकस्मिक लाभकर कटौतीपछि ती विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गरेका थिए।
त्यसैगरी बम्पर पुरस्कारतर्फ दुई जनालाई जनही १० लाख रुपैयाँको पुरस्कार घोषणा गरिएको थियो। २५ प्रतिशत कर कटौतीपछि बम्पर विजेताले जनही ७ लाख ५० हजार रुपैयाँ पाएका थिए।
तर पछिल्लो समय देशमा आएको भोटेकोशीसहितको ठूलो विपत्तिका कारण आज सञ्चालन गर्ने भनिएको चिट्ठा कार्यक्रमबारे अन्योल सिर्जना भएको छ।

आन्तरिक राजस्व विभागका प्रवक्ता केशव रघुवंशीले आज खोल्ने भनिएको चिट्ठाका सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको बताएका छन्। कार्यक्रम सञ्चालन गर्ने वा स्थगित गर्नेबारे थप निर्णय आउन बाँकी रहेको उनको भनाइ छ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले पनि आफूलाई यस विषयमा कुनै जानकारी नरहेको बताएका छन्। उनका अनुसार मन्त्रीस्तरबाट कार्यक्रम स्थगित गर्ने विषयमा अहिलेसम्म औपचारिक जानकारी आएको छैन।

प्रवक्ता रघुवंशीले भने मुलुक अहिले ठूलो विपत्तिबाट गुज्रिरहेका कारण केही समयका लागि कार्यक्रम रोक्नु उपयुक्त हुने आफ्नो व्यक्तिगत धारणा रहेको बताएका छन्। यद्यपि अन्तिम निर्णय गर्ने अधिकार अर्थ मन्त्रालय र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग रहेकाले आफूले औपचारिक रूपमा केही भन्न नसक्ने उनले स्पष्ट पारे।

यससँगै आज हुने भनिएको बिल चिट्ठा कार्यक्रम सञ्चालन हुने वा केही समयका लागि स्थगित हुने भन्ने विषय अर्थ मन्त्रालयको निर्णयमा निर्भर रहने भएको छ।

Leave a Comment