काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहतको काम जारी रहे पनि विपत्तिको भयावह तस्वीर थप स्पष्ट हुँदै गएको छ।
बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ भने ३,९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मंगलबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट मानव अंगसहित ९८७ शव फेला परेको जनाएको हो।
सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० शव फेला परेका छन्। त्यस्तै गोर्खामा ६५, धादिङमा ५५, तनहुँमा ३८, रसुवामा २७ र नुवाकोटमा १५ जनाको मृत्यु पुष्टि भएको छ।
एउटै घरभित्र २० भन्दा बढी शव
यसैबीच नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा एउटै घरभित्र २० वटाभन्दा बढी शव फेला परेपछि बाढीको विनाशको अर्को दर्दनाक तस्वीर सार्वजनिक भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा उक्त घरभित्र ठूलो संख्यामा शव भेटिएका हुन्।
स्थानीयको सूचनापछि प्रहरी टोली घरमा पुगेको थियो। बाढी र माटोले पुरिएको घरबाट सोमबार ५–६ वटा शव निकालिएको प्रहरीले जनाएको छ। रात परेपछि रोकिएको शव निकाल्ने काम मंगलबार बिहानदेखि पुनः सुरु गरिएको छ।
प्रहरीका अनुसार बाढीमा ज्यान गुमाएकामध्ये हालसम्म ९५१ शव फेला परिसकेका छन्। तीमध्ये ९२७ शवको जाँच मुचुल्का तयार गरिएको छ। पहिचान हुन नसकेका ८२४ शवसम्बन्धी विवरण
प्रहरीको वेबसाइटमा राखिएको छ भने पहिचान नभएका तथा अलपत्र अवस्थामा रहेका ४१३ शव गाडेर व्यवस्थापन गरिएको छ।
हजारौँ अझै सम्पर्कविहीन
प्राधिकरणका अनुसार नुवाकोटबाट मात्रै करिब १,५५८ जना र रसुवाबाट ८६५ जना अझै बेपत्ता छन्। विभिन्न जलविद्युत् आयोजनाबाट ६३९ जना, ५८३ विदेशी नागरिक तथा उनीहरूसँग भ्रमणमा रहेका १६४ नेपाली पनि सम्पर्कमा आएका छैनन्।
सुरक्षाकर्मी र सरकारी निकायतर्फ पनि ठूलो मानवीय क्षति भएको छ। नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १३ तथा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता रहेको विवरणमा उल्लेख छ। अध्यागमन, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीन–तीन जना कर्मचारीसमेत सम्पर्कविहीन छन्।
११ हजारभन्दा बढीको उद्धार
विपद् प्रभावित क्षेत्रबाट हालसम्म ११,८१४ जनाको सकुशल उद्धार गरिएको छ। नेपाली सेनाले ५७३ वटा हवाई उडानमार्फत ३,४४९ नेपाली र २५३ विदेशी नागरिकको उद्धार गरेको छ। मंगलबार मात्रै सेनाले १२ उडान गरेको जनाएको छ।राहत सामग्री ढुवानीका लागि सशस्त्र प्रहरीले रसुवा र नुवाकोटमा ५० भन्दा बढी हवाई उडान गरिसकेको छ।
उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित कुल २९,०११ सुरक्षाकर्मी परिचालन गरिएको छ।
प्रभावित नागरिकका लागि नुवाकोट, काठमाडौं, रसुवा र धादिङमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
करोडौँको राहत, सञ्चार सेवा पुनः सञ्चालन
सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख तथा अन्य १५ प्रभावित पालिकाका लागि ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
खाद्य तथा गैरखाद्य राहत सामग्री ३७ ट्रक, ३७ बोलेरो तथा हेलिकप्टरका ९ उडानमार्फत प्रभावित क्षेत्रमा पठाइएको छ। इन्धन आपूर्ति सहज बनाउन ४२ हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल र ६ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमका ११० वटै टावर मर्मत गरी सञ्चालनमा ल्याइएको छ। एनसेलका क्षतिग्रस्त ७८ टावरमध्ये ७५ वटा पनि पुनः सञ्चालनमा आइसकेका छन्।
विनाशकारी बाढीपछि एकातिर उद्धार र राहत अभियान तीव्र पारिएको छ भने अर्कोतर्फ बेत्रावतीलगायतका क्षेत्रमा एकै स्थानबाट ठूलो संख्यामा शव भेटिन थालेपछि बेपत्ताको वास्तविक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।

