काठमाडौँ, ३० भदौ । सैनिक अस्पतालको आईसीयूभित्रै बिरामीको अन्तर्वार्ता लिइएको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले मंगलबारको बैठकमा उक्त घटनाप्रति गम्भीर आपत्ति जनाउँदै आईसीयूजस्तो संवेदनशील स्थानमा अन्तर्वार्ता लिनु उचित नभएको बताएकी हुन्।
सांसद बास्कोटाले आईसीयूमा उपचाररत बिरामीको स्वास्थ्य र गोपनीयतालाई प्राथमिकतामा राख्नुपर्नेमा क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकारसमेत प्रवेश गराएर अन्तर्वार्ता लिइनु मानवीय संवेदनशीलतामाथि प्रश्न उठाउने विषय भएको बताइन्।
उनका अनुसार आईसीयूमा बिरामीका आफन्तलाई समेत निश्चित समय र चिकित्सकको अनुमतिमा मात्र भेट्न दिइन्छ। यस्तो अवस्थामा अन्तर्वार्ताका लागि टोली नै आईसीयूभित्र पुग्नुले अस्पतालको प्रोटोकल र बिरामीको सुरक्षाबारे प्रश्न उठाएको उनले बताइन्।
‘कुनै सामग्री तयार गर्ने, अन्तर्वार्ता लिने वा भ्युज बढाउने उद्देश्यभन्दा बिरामीको स्वास्थ्य र जीवन महत्वपूर्ण हुनुपर्छ,’ बास्कोटाले बैठकमा भनिन्।
उनले आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिनु कत्तिको जायज हो भन्ने प्रश्न गर्दै त्यहाँ रहेका अन्य बिरामीको स्वास्थ्यमा समेत त्यसबाट जोखिम उत्पन्न हुन सक्ने बताइन्।
बास्कोटाले मानिसको जीवनभन्दा कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज ठूलो हुन नसक्ने स्पष्ट पारिन्। उनले आईसीयूमा अन्तर्वार्ता लिने कार्यलाई गलत भन्दै यस्ता गतिविधिलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने मागसमेत गरिन्।
‘मानिसको जीवनलाई कुनै पनि अवस्थामा टीआरपीसँग तुलना गर्न मिल्दैन,’ उनले भनिन्, ‘आईसीयूमा अन्तर्वार्ता लिनु गलत हो। यसलाई नियमन गर्न हामीले कानुनी व्यवस्था गर्नैपर्छ।’

