काठमाडौं, भदौ ३० । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेमध्ये हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ। बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ५४४ पुरुष, ३३६ महिला तथा ५१९ वटा आंशिक मानव अङ्ग रहेका छन्।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढीमा परी हालसम्म चार हजार ८९ जना बेपत्ता छन्। बेपत्तामध्ये दुई हजार ९०७ पुरुष, ५७२ महिला, २७२ विदेशी पुरुष र ३२८ विदेशी महिला रहेका छन्।
बाढीमा परी घाइते भएका नौ हजार २८७ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवको पहिचानका लागि डिएनए नमुना संकलनलगायतका प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ। पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रवक्ता काफ्लेले जानकारी दिए।
शव पहिचानका लागि मृतकका शवबाट एक हजार २८६ तथा बेपत्ता व्यक्तिका आफन्तबाट एक हजार ८८९ वटा डिएनए नमुना संकलन गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कामका लागि हालसम्म सात हजार ९७५ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।
यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल तीन हजार ४४० जना रहेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा व्यवस्थापनका कामलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ।

