भोटेकोशी बाढीपीडितलाई महागढीमाईको ४१ लाखभन्दा बढी सहयोग

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि बाराको महागढीमाई नगरपालिकाले ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।

नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका काममा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार रकम नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिबाट संकलन हुने रकम तथा विपद् व्यवस्थापन कोषबाट व्यवस्थापन गरिनेछ।

विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्न देशभरबाट सहयोग आवश्यक रहेको भन्दै नगरपालिकाले पनि आफ्नोतर्फबाट योगदान गर्ने निर्णय गरेको प्रमुख यादवले बताए।

‘विपद्को यस घडीमा देशभरबाट यथासक्य सहयोग पठाउन आवश्यक ठानेर हामीले पनि रकम पठाउने निर्णय गरेका छौं,’ उनले भने।
महागढीमाई नगरपालिकाले उपलब्ध गराउने रकम भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा उपयोग हुने अपेक्षा गरिएको छ।

Leave a Comment