काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको खातामा झण्डै ८ अर्ब रुपैयाँ सहयोग जम्मा भएको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न व्यक्ति, संघसंस्था, विभिन्न निकाय तथा अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको थियो। सरकारको आह्वानपछि प्राप्त सहयोग रकम क्रमशः बढ्दै गएको हो।
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभामा बाढीको अवस्था र सरकारले अघि बढाएका उद्धार, राहत तथा पुनःस्थापनाका कामबारे जानकारी दिँदै कोषमा जम्मा भएको रकमबारे जानकारी दिएका हुन्।
उनका अनुसार बुधबार दिउँसोसम्म बाढीपीडितका लागि ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ सहयोग संकलन भएको छ।
यसअघि बाढी प्रभावितको राहत तथा उद्धारका लागि सरकारले कोषबाट १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ। उक्त रकम निकासा भएपछि कोषमा ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ बाँकी रहेको प्रधानमन्त्री शाहले जानकारी दिए।
सरकारले संकलित रकम बाढीबाट प्रभावित नागरिकको तत्कालीन राहत, उद्धार तथा दीर्घकालीन पुनःस्थापनामा उपयोग गर्ने जनाएको छ।

