मलेसियालाई ६ विकेटले हराउँदै नेपालले निकाल्यो लगातार दोस्रो जित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । एसिसी पुरुष प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

मलेसियामा बिहीबार भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम राखेको हो।

मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले २१.४ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा अर्जुन कुमालले महत्वपूर्ण भूमिका खेले। उनले ६८ बलमा चार चौकासहित अविजित ४५ रन बनाए।
त्यस्तै इसान पाण्डेले २० रन, दीपेन्द्रसिंह ऐरीले १२ रन तथा कप्तान रोहितकुमार पौडेलले १० रनको योगदान दिए। मलेसियाका सायिद अजिज, भिरनदीप सिंह, प्रशान्त मधुकर र अरिफ उल्लाहले एक–एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १०३ रन मात्र बनाउन सकेको थियो। मलेसियाका कप्तान सायिद अजिजले ४९ बलमा दुई चौका र दुई छक्कासहित ३० रन बनाए। अकिल वाहिदले २४, भिरनदीप सिंहले १४ तथा स्याहादत रामिले १३ रन जोडे।

मलेसियाको इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका करण केसी सर्वाधिक प्रभावकारी देखिए। उनले चार विकेट लिए। ललितनारायण राजबंशीले दुई विकेट तथा हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे।

नेपालले प्रतियोगिताको पहिलो खेलमा बहराइनलाई पराजित गरेको थियो। लगातार दुई जितसँगै नेपालको आत्मविश्वास थप बलियो बनेको छ।
नेपालले अब प्रतियोगिताको तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग खेल्नेछ।

Leave a Comment