काठमाडौं । नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नेपाली तथा अन्य पीडितलाई लक्षित गरी सामाजिक सञ्जालमा रङ्गभेदी र विदेशीद्वेषी टिप्पणी गरेको आरोपमा सिंगापुर प्रहरीले पाँच जनामाथि अनुसन्धान अघि बढाएको छ।
सिंगापुर प्रहरीले २९ देखि ६६ वर्ष उमेर समूहका पाँच जनालाई पहिचान गरी नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाएको छ। सिंगापुरका गृहमन्त्री तथा राष्ट्रिय सुरक्षा समन्वय मन्त्री के. षण्मुगमले सामाजिक सञ्जालमा फैलिएका टिप्पणीलाई ‘लज्जास्पद, घिनलाग्दो र पूर्णतया अस्वीकार्य’ भन्दै अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएपछि कारबाही अघि बढाइएको हो।
नेपालमा बाढीपहिरोका कारण एक हजारभन्दा बढी मानिसको मृत्यु भएको र केही सिंगापुरका नागरिकसमेत सम्पर्कविहीन रहेको संवेदनशील अवस्थामा भारतीय मूलका सिंगापुरवासीलाई लक्षित गरेर सामाजिक सञ्जालमा घृणास्पद अभिव्यक्ति सार्वजनिक भएका थिए।
मन्त्री षण्मुगमका अनुसार केही प्रयोगकर्ताले ‘ती हाम्रा आफ्ना होइनन्’ र ‘मैले यहाँ भारतीय अनुहार मात्र देखिरहेको छु, छोडिदेऊ, उद्धार बन्द गर’ जस्ता टिप्पणी गरेका थिए।
एयर इन्डिया र टेमासेकका प्रमुखमाथि पनि टिप्पणी
बाढीपीडितसँग सम्बन्धित टिप्पणीबाहेक भारतीय वायुसेवा कम्पनी एयर इन्डियामा सिंगापुर एयरलाइन्सको थप लगानीलाई लिएर पनि भारतीय समुदायलाई लक्षित गर्दै अनलाइनमा घृणास्पद सामग्री फैलाइएको पाइएको छ।
एयर इन्डियाले ठूलो वार्षिक घाटापछि आफ्ना प्रमुख लगानीकर्ता टाटा सन्स र सिंगापुर एयरलाइन्ससँग करिब १.५ अर्ब अमेरिकी डलर थप पूँजी माग गरेको समाचार सार्वजनिक भएपछि विवाद चर्किएको थियो।
त्यसपछि भारतीय समुदायलाई लक्षित गर्दै ‘सर्प’, ‘करी’, ‘पराठा’ र ‘कालो जादु’ जस्ता अपमानजनक शब्द प्रयोग गरी टिप्पणीहरू गरिएको पाइएको हो।
सिंगापुर एयरलाइन्सको प्रमुख स्वामित्व रहेको सरकारी लगानी कम्पनी टेमासेकका प्रमुख कार्यकारी अधिकृत दिल्हान पिल्ले सन्द्रासेगरालाई समेत भारतीय मूलका भएकै कारण अनलाइनमा निशाना बनाइएको थियो। उनलाई एयर इन्डियाको पक्षमा पक्षपात गरेको आरोप लगाइएको थियो।
मन्त्री षण्मुगमले यस्तो व्यवहारको आलोचना गर्दै सीईओलाई भारतीय मूलको भएकै कारण निशाना बनाउनु अत्यन्तै घिनलाग्दो र मानहानिपूर्ण भएको बताएका छन्। उनका अनुसार ती व्यक्ति अरू सिंगापुरवासीसरह नै देशका नागरिक हुन्।
आपत्तिजनक सामग्री हटाउन सामाजिक सञ्जाललाई निर्देशन
सिंगापुरको डिजिटल विकास तथा सूचना मन्त्रालयले समुदायको मापदण्ड उल्लङ्घन गर्ने घृणास्पद तथा आपत्तिजनक सामग्री तत्काल हटाउन सामाजिक सञ्जाल प्लेटफर्महरूलाई निर्देशन दिएको छ।
सिंगापुर प्रहरीले जातीय भावनामा चोट पुर्याउने तथा विभिन्न समुदायबीच शत्रुता र वैरभाव फैलाउने गतिविधिलाई गम्भीर रूपमा लिइएको जनाएको छ। घटनामा थप संलग्न व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
बहुजातीय र बहुधार्मिक समाज रहेको सिंगापुरमा जातीय विभाजनले राष्ट्रिय एकतामा गम्भीर असर पार्न सक्ने मन्त्री षण्मुगमले चेतावनी दिएका छन्।
उनले जातीय वा धार्मिक आधारमा समाज विभाजित भए देशलाई बलियो बनाउने एकता कमजोर हुने बताए। यस्ता अभिव्यक्ति सुरुमा सीमित व्यक्तिबाट आए पनि पछि
सामान्यजस्तै बन्ने र अन्ततः राजनीति तथा समाजमै स्थापित हुन सक्ने भन्दै उनले त्यस्ता गतिविधिलाई कुनै पनि हालतमा स्वीकार गर्न नहुने बताएका छन्।
स्रोत-अनलाइन

