बारा, २८ भदौ । जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलिया टोलबाट सम्पर्कविहीन भएका एकै परिवारका तीन बालबालिका भारतमा सकुशल फेला परेका छन्।
बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका १० वर्षीया छोरी काजल पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र ५ वर्षीय छोरा धिरज पासवान भदौ २८ गते दिउँसो करिब ५ बजेदेखि सम्पर्कविहीन भएका थिए।
घरबाट बाहिरिएपछि लामो समयसम्म बालबालिका नफर्किएपछि परिवारले आफन्त तथा स्थानीयस्तरमा खोजी गरेको थियो। खोजीका क्रममा उनीहरूको अवस्था पत्ता नलागेपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो।
जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराले तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी खोजी तीव्र बनाएको थियो। प्रहरीले तीनै बालबालिकाको तस्वीर र हुलियासहितको विवरण विभिन्न प्रहरी कार्यालयमा पठाएर खोजी अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेका अनुसार खोजीका क्रममा तीनै जना बालबालिका भारतको मोतिहारी जिल्ला रामगढवा थाना–१३ स्थित आफन्तको घरमा सुरक्षित रहेको पुष्टि भएको हो।
बालबालिका सम्पर्कविहीन भएको दिन राति करिब ८ बजे नै उनीहरू आफन्तको घरमा सकुशल पुगेको जानकारी उनीहरूका बुवा मुकेश पासवानले प्रहरीलाई गराएका थिए। प्रहरीले समेत तीनै जना बालबालिका सुरक्षित अवस्थामा रहेको पुष्टि गरेको छ।

