होर्मुज जलडमरुमा फेरि जहाजमाथि आक्रमण, विश्व तेल आपूर्तिमा बढ्यो चिन्ता

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 3 मिनेट

काठमाडौं, भदौ २८ । इरानसँगको युद्धका कारण तनावग्रस्त बनेको होर्मुज जलडमरुमा फेरि एउटा जहाजमाथि आक्रमण भएको खबर सार्वजनिक भएपछि विश्व बजारमा तेल आपूर्तिको जोखिम थप बढेको छ। यहीबीच साउदी अरबले पनि आफ्नो महत्वपूर्ण पूर्व–पश्चिम तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।

बेलायती नौसेनासँग सम्बन्धित बेलायती सामुद्रिक व्यापार सञ्चालन संस्थाले आइतबार होर्मुज जलडमरु पार गरिरहेको एउटा जहाजमा प्रक्षेप्यास्त्रजस्तो वस्तु प्रहार भएको जानकारी प्राप्त भएको जनाएको छ। आक्रमणबाट जहाजमा भएको क्षति तथा चालक दलका सदस्यहरूको अवस्थाबारे तत्काल विस्तृत विवरण सार्वजनिक भएको छैन।

यसअघि ड्रोन आक्रमणपछि साउदी अरबले करिब १ हजार २०० किलोमिटर लामो पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको थियो। साउदी अरब र इराकले उक्त ड्रोन आक्रमण इराकबाट भएको बताएका छन्। इराकमा इरानसमर्थित सशस्त्र समूहहरूको गतिविधि रहँदै आएको छ।

होर्मुज जलडमरुमा युद्धका कारण तेल ढुवानी प्रभावित भएपछि पछिल्ला महिनामा साउदी अरबको उक्त पाइपलाइन मध्यपूर्वको तेल विश्व बजारमा पुर्‍याउने वैकल्पिक मार्गका रूपमा महत्वपूर्ण बनेको थियो। पाइपलाइनबाट दैनिक करिब ४० लाखदेखि ५० लाख ब्यारेलसम्म तेल आपूर्ति हुँदै आएको बताइएको छ।

पाइपलाइनमाथि भएको आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन। स्याटेलाइट तस्वीरमा मदिनाको दक्षिणी क्षेत्रमा पाइपलाइन आसपासबाट कालो धुवाँ निस्किएको देखिएको थियो। साउदी विदेश मन्त्रालयले घटनामा केही व्यक्ति घाइते भएको र क्षतिको मूल्याङ्कन भइरहेको जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आक्रमणमा इरानको संलग्नता हुनसक्ने बताएका छन्। यसअघि यमनका हुथी विद्रोहीले प्रहार गरेको प्रक्षेप्यास्त्र जजान क्षेत्रमा खस्दा दुई जना घाइते हुनुका साथै मस्जिदसहित केही संरचनामा क्षति पुगेको साउदी नागरिक सुरक्षा निकायले जनाएको थियो।

तेल आपूर्तिको सुरक्षामाथि बढ्दो चुनौतीसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पनि उकालो लागेको छ। पछिल्लो एक सातामा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। अमेरिकामा डिजेलको खुद्रा मूल्य पनि पहिलोपटक प्रतिग्यालोन ६ डलर नाघेको बताइएको छ।

अमेरिका र इरानबीच प्रत्यक्ष द्वन्द्व बढिरहेका बेला इरानसमर्थित हुथी समूहको गतिविधि लाल सागर क्षेत्रमा समेत तीव्र भएको छ। यसले विश्वव्यापी तेल ढुवानीका लागि महत्वपूर्ण अर्को समुद्री मार्गमा समेत अवरोधको जोखिम बढाएको छ।

यसैबीच साउदी युवराज मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग फोनवार्ता गर्दै हुथीविरुद्ध सैन्य सहयोग मागेको रोयटर्सले स्रोतलाई उद्धृत गर्दै जनाएको छ। तर अमेरिकाले तत्काल प्रत्यक्ष सैन्य हस्तक्षेप नगरी गुप्तचर सहयोगमा सीमित रहने संकेत दिएको बताइएको छ।
यता यमनी सरकारका केही स्रोतले हुथीहरूले लाल सागर प्रवेशद्वार नजिक रहेको रणनीतिक बाब अल–मन्देब जलडमरु क्षेत्रमा पर्ने पेरिम टापु आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन्।
अमेरिका–इरानबीच युद्ध अन्त्यका लागि भएको पछिल्लो सहमति कार्यान्वयन हुन नसकेपछि दुई देशबीच नयाँ वार्ताको वातावरण बन्न सकेको छैन। इरानी पक्षले अमेरिकाले आफ्ना सबै सर्त स्वीकार नगरेसम्म वार्ता अघि बढाउनुको अर्थ नरहेको बताउँदै आएको छ।

इरानले होर्मुज जलडमरुमाथि आफ्नो नियन्त्रणलाई मान्यता दिनुपर्ने तथा त्यहाँबाट आवतजावत गर्ने जहाजबाट शुल्क उठाउन पाउनुपर्ने माग अघि सारेको छ। अमेरिकाले भने उक्त माग अस्वीकार गर्दै आएको छ।

यसैबीच इरानले ओमानमा हुने खाडी अरब राष्ट्रहरूको बैठकमा सहभागी हुने जनाएको छ। बैठकमा होर्मुज जलडमरुको अवस्था र क्षेत्रीय सुरक्षालगायत विषयमा छलफल हुने भए पनि तत्कालै महत्वपूर्ण लिखित सम्झौता हुने सम्भावना न्यून रहेको इरानी अधिकारीहरूले बताएका छन्।

Leave a Comment