काठमाडौँ, भदौ २८ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित भएका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरूले अब केन्द्रीय सदस्यकै हैसियत पाउने भएका छन्।
आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १४औँ महाधिवेशनबाट निर्वाचित भएर हाल पार्टीको विशेष महाधिवेशनमा सहभागी नभएका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियत दिने निर्णय गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार तत्कालीन केन्द्रीय समितिमा रहेका तर विशेष महाधिवेशनमा सहभागी नभएकाहरूलाई केन्द्रीय सदस्यको हैसियतमा समेट्न विधानअनुसार आवश्यक व्यवस्था गरिनेछ।
बैठकको निर्णयसँगै १४औँ महाधिवेशनबाट निर्वाचित संस्थापनइतर पक्षका नेताहरूलाई पनि केन्द्रीय सदस्यको मान्यता दिने बाटो खुलेको छ।
यसैगरी, गत वर्ष पुसमा क्रियाशील सदस्यता नवीकरण गरेका तर हालसम्म सदस्यता अद्यावधिक गर्न नसकेका सदस्यहरूले पनि १५औँ महाधिवेशनमा सहभागी हुन पाउने निर्णय बैठकले गरेको प्रवक्ता चालिसेले जानकारी दिए।
कांग्रेसले सदस्यताको विषयमा देखिएको प्राविधिक तथा अद्यावधिकसम्बन्धी समस्यालाई सम्बोधन गर्दै महाधिवेशनमा सहभागी हुने अवसर सुनिश्चित गर्ने निर्णय गरेको हो।

