हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव, आणविक वार्ता पुनः सुरु गर्ने तयारी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज ९ — इरानले हर्मुज जलघाँटी पुनः खुला गर्न र अमेरिकासँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता अघि बढाउन सातदिने योजना प्रस्ताव गरेको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा अमेरिकासमक्ष मध्यस्थकर्तामार्फत उक्त प्रस्ताव पठाइएको जानकारी दिएका हुन्। उनका अनुसार प्रस्तावमा उल्लेख गरिएका केही सर्त पूरा भए सातौँ दिनको अन्त्यसम्म हर्मुज जलघाँटी खोल्ने र त्यसपछि आणविक कार्यक्रमसहितका विषयमा विस्तृत वार्ता अघि बढाउने योजना छ।
अराघचीले प्रस्ताव यसै वर्षको जुनमा अमेरिका र इरानबीच भएको समझदारीको ढाँचासँग मिल्दोजुल्दो रहेको बताएका छन्। उनले अमेरिकी मध्यावधि निर्वाचनअघि नै कुनै समझदारीमा पुग्न सके सकारात्मक हुने धारणा पनि व्यक्त गरेका छन्।
जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलसँगको भेटमा अराघचीले इरानले कूटनीतिक प्रक्रिया अघि बढाउन आफ्ना सर्त र आवश्यकताबारे अमेरिकी पक्षलाई स्पष्ट जानकारी गराइसकेको बताएका छन्। उनले क्षेत्रीय सुरक्षा पुनःस्थापनाका लागि अमेरिकी सैन्य कारबाही अन्त्य हुनुपर्ने इरानको धारणा रहेको बताए।
इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि रहेको दाबी गर्दै कूटनीतिक माध्यमबाट समाधान खोज्न आफू तयार रहेको बताउँदै आएको छ। इरानी पक्षले विगतमा भएका सैन्य कारबाहीलाई बेवास्ता गरेर वार्ता अघि बढाउन कठिन हुने बताएको छ।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा जुनमा अमेरिका र इरानबीच भएको समझदारी कार्यान्वयन हुन नसक्नुमा अमेरिकी पक्ष जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले इरान संवादमार्फत समाधान खोज्न अझै तयार रहेको बताएका छन्।
यसअघि पनि इरानले अमेरिकी सैन्य दबाब घटाइए र आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी हटाइए हर्मुज जलघाँटी सात दिनभित्र खोल्न सकिने बताएको थियो। उक्त प्रस्ताव सेप्टेम्बर १६ मा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष पठाइएको इरानी अधिकारीहरूले बताएका छन्।
विश्वको महत्वपूर्ण ऊर्जा तथा सामुद्रिक व्यापार मार्गमध्ये एक मानिने हर्मुज जलघाँटीमा हुने अवरोधले क्षेत्रीय द्वन्द्वसँगै विश्वव्यापी ऊर्जा आपूर्ति र समुद्री व्यापारमा समेत असर पार्न सक्छ।

Leave a Comment