महिला कबड्डीमा नेपाललाई कांस्य, भारतसँग सेमिफाइनलमा पराजित

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज ९ — एसियन गेम्समा नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको छ। सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपालले कांस्य पदकमै चित्त बुझाएको हो।

जापानको तोकाइ सिटिजन व्यायामशालामा शुक्रबार भएको सेमिफाइनल खेलमा भारतले नेपाललाई ४८–२४ अंकले पराजित गर्‍यो। खेलको सुरुदेखि नै दबाब कायम राखेको भारतले पहिलो हाफ ३१–१७ ले आफ्नो पक्षमा पारेको थियो। दोस्रो हाफमा पनि भारतले १७–७ को अग्रता कायम राख्दै खेल जित्यो।

यससँगै नेपाल लगातार दोस्रो एसियन गेम्समा महिला कबड्डीको सेमिफाइनलमा भारतसँग पराजित भएको हो। अघिल्लो संस्करणको १९औँ एसियन गेम्समा पनि भारतसँग सेमिफाइनलमा पराजित भएपछि नेपालले कांस्य पदक जितेको थियो।

जारी प्रतियोगिताको समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो। त्यसपछि श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो।

यस एसियन गेम्समा नेपालको यो दोस्रो पदक हो। यसअघि पुरुष करातेको ८४ केजी कुमितेमा तेन्जिङ शेर्पाले कांस्य पदक जितेका थिए।

Leave a Comment