प्रधानमन्त्री बालेन्द्र शाहले आगामी दिनमा भारी वर्षा र हुरीको सम्भावना रहेकाले सम्भावित विपद्बाट जोगिन उच्च सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले पछिल्लो २४ घण्टामा मौसमजन्य जोखिम न्यूनीकरणका लागि सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायलाई पूर्वतयारी र प्रतिकार्यका काम तीव्र बनाउन निर्देशन दिइएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको र मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा हुरीको सम्भावना औँल्याएको जानकारी दिएका छन्।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको प्रधानमन्त्री शाहले बताएका छन्। जिल्ला सुरक्षा समितिको बैठकमार्फत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ।
नदी तथा खोला आसपासका बस्तीमा सुरक्षा निकायले माइकिङमार्फत स्थानीयलाई सचेत गराइरहेका छन्। सम्भावित बाढी, पहिरो र नदी कटानबाट हुने क्षति न्यूनीकरणका लागि उद्धार तथा राहत कार्यमा प्रयोग हुने जनशक्ति र उपकरणलाई तयारी अवस्थामा राखिएको जनाइएको छ।
प्रधानमन्त्री शाहले विशेषगरी रातको समयमा राजमार्गमा अनावश्यक यात्रा नगर्न र लामो दूरीको यात्रा सकेसम्म स्थगित गर्न आग्रह गरेका छन्। जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको पनि उनले बताएका छन्।
राजमार्गमा रहेका सुरक्षा जाँच चौकीहरूले अघिल्लो जाँच चौकीसँग समन्वय गरी सम्बन्धित सडकखण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारीसाधन अघि बढाउने व्यवस्था मिलाइएको छ। जोखिम देखिएमा ‘रोक, पर्ख र हेर’ नीति अपनाइने जनाइएको छ।
त्यस्तै, सम्भावित बाढी, पहिरो तथा नदी कटानबाट सडकमा अवरोध आउन सक्ने अवस्थालाई ध्यानमा राख्दै स्काभेटर, लोडर र डोजरलगायत भारी उपकरण जोखिमयुक्त सडकखण्ड नजिकै तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको छ।
सडक डिभिजन कार्यालयहरूलाई चौबीसै घण्टा सक्रिय रहन र सडक खुला वा अवरुद्ध रहेको अवस्थाबारे नियमित रूपमा अद्यावधिक सूचना सार्वजनिक गर्न पनि निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताएका छन्।
उनले विपद्को जोखिमबाट बच्न सरकारी निकायको तयारीसँगै नागरिक स्वयंले पनि मौसमको अवस्था बुझेर आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्

