बारा, असोज ७ — बालिका अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउ परेका छन्।
प्रहरीका अनुसार रौतहटको कटहरिया नगरपालिका–७ स्थायी घर भई बारा कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अंसारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई प्रलोभन तथा डर–त्रास देखाई अपहरण गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
प्रहरी विवरणअनुसार बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित एक मिलको पछाडिको झाडीमा लगेर जबर्जस्ती करणी गरेपछि बसमार्फत काठमाडौं पुर्याई वनस्थलीमा रहेको कोठामा राखेर पटक–पटक जबर्जस्ती करणी गरिएको थियो।
घटनाको जानकारी पाएपछि प्रहरीले माघ २० गते बालिकाको उद्धार गरेको थियो। त्यसपछि आरोपितविरुद्ध अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दा अघि बढाइएको थियो।
यस मुद्दामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले २०८२ पुस २४ गते अंसारीलाई १८ वर्ष कैद सजाय, ६ लाख रुपैयाँ जरिवाना र पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला गरेको थियो।
फैसलापछि फरार रहेका अंसारीलाई प्रहरीले २०८३ असोज ७ गते कलैया उपमहानगरपालिका–६ स्थित बजार क्षेत्रमा घुमिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
पक्राउ परेका अंसारीलाई बारा जिल्ला अदालत कलैयामा उपस्थित गराइएको थियो। अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार कार्यालय वीरगन्ज, पर्सा पठाइएको प्रहरीले जनाएको छ।

