पहिरोले काठमाडौं जोड्ने प्रमुख राजमार्ग अवरुद्ध, कृष्णभीरसहित सात ठाउँमा सडक बन्द

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, असोज ९ — लगातारको वर्षापछि आएको पहिरोका कारण काठमाडौं प्रवेश गर्ने प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ। पृथ्वी राजमार्ग, कान्तिलोकपथ र बीपी राजमार्ग विभिन्न स्थानमा पहिरो खसेपछि पूर्णरूपमा अवरुद्ध भएका छन्।

धादिङको कृष्णभीर क्षेत्रमा मात्रै सात स्थानमा ढुंगासहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। बिहीबारदेखि निरन्तर वर्षा भइरहेका कारण पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समेत कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

पृथ्वी राजमार्गमा बिहीबार साँझदेखि नै सवारी आवागमन रोकिएको थियो। शुक्रबार बिहानदेखि यातायात सञ्चालन गर्ने तयारी गरिए पनि सडकको अवस्था थप बिग्रिएपछि राजमार्ग अनिश्चितकालका लागि बन्द गरिएको प्रहरीले जनाएको छ।

कृष्णभीर क्षेत्रमा यसअघि पनि सडक भासिएको थियो। भदौ १४ गते त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि करिब दुई साताको प्रयासमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको थियो। अहिले उक्त डाइभर्सनसहित आसपासका विभिन्न स्थानमा पहिरो खसेपछि पुनः सडक अवरुद्ध भएको हो।

यस्तै, कान्तिलोकपथ र बीपी राजमार्गमा पनि पहिरो खसेपछि सवारी आवागमन रोकिएको प्रहरीले जनाएको छ। निरन्तर वर्षा भइरहेकाले सडक खुलाउन थप समय लाग्न सक्ने जनाइएको छ।

Leave a Comment