काठमाडौं, असोज २२ । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल खेलेसँगै २१ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल यात्रामा पूर्णविराम लगाएका छन्। बेनिनविरुद्धको खेल उनका लागि अर्जेन्टिनाको जर्सीमा अन्तिम खेल बनेको हो।
अन्तिम खेलमा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरे। उनको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्यो।
राष्ट्रिय टोलीको जर्सीमा अन्तिमपटक मैदान उत्रिँदा मेस्सी भावुक देखिए। खेलअघि राष्ट्रिय गान बज्दा उनी भावुक बनेका थिए भने खेलको १०औँ मिनेटमा रेफ्रीले करिब एक मिनेट खेल रोकेपछि हजारौँ दर्शकले उभिएर उनको नाम उच्चारण गर्दै सम्मान गरेका थिए।
खेलपछि समर्थकमाझ सम्बोधन गर्दै मेस्सीले अर्जेन्टिनाको जर्सी लगाएर देशका लागि खेल्न पाउनु आफ्नो जीवनकै ठूलो गौरव भएको बताए। उनले समर्थकप्रति कृतज्ञता व्यक्त गर्दै अब आफू दर्शकका रूपमा राष्ट्रिय टोली र नयाँ पुस्ताका खेलाडीलाई समर्थन गर्ने बताएका छन्।
मेस्सीको अन्तिम खेललाई विशेष बनाउन रंगशालामा भव्य ड्रोन प्रकाश प्रदर्शनसमेत गरिएको थियो। आकाशमा मेस्सीको अनुहार र उनको चर्चित १० नम्बरको आकृति देखाइएको थियो। करिब ८५ हजार दर्शक उनको विदाइको साक्षी बने।
३९ वर्षीय मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। उनको कप्तानीमा अर्जेन्टिनाले २०२१ र २०२४ कोपा अमेरिका तथा २०२२ को फिफा विश्वकप जितेको थियो।
आठपटक बालोन डि’ओर जितेका मेस्सीले क्लब फुटबलमा पनि असाधारण सफलता हात पारेका छन्। आफ्नो करिअरको लामो समय बार्सिलोनामा बिताएका उनले त्यहाँ थुप्रै घरेलु तथा अन्तर्राष्ट्रिय उपाधि जिते। त्यसपछि पेरिस सेन्ट जर्मेन हुँदै उनी अहिले अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
मेस्सीले यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट अलग हुने घोषणा गरेका थिए। उनको निर्णयसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीले समेत उनलाई सम्मानपूर्वक विदाइ गर्ने तयारी गरेको थियो।
मेस्सीको मैदानबाट विदाइसँगै विश्व फुटबलले एक असाधारण पुस्ताको अन्त्य महसुस गरेको छ। उनको दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय यात्राले अर्जेन्टिनी फुटबल मात्र होइन, विश्व फुटबलकै इतिहासमा अमिट छाप छोडेको छ।
मेस्सीको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम, सकियो एक स्वर्णिम फुटबल युग
Leave a Comment
Leave a Comment

