बिम्स्टेक बैठकमा विपद् व्यवस्थापनको प्रस्ताव राखेर फर्किए गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, असोज २८। गृहमन्त्री सुदन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्।

भ्रमणका क्रममा उनले क्षेत्रीय विपद् व्यवस्थापन, द्विपक्षीय सहकार्य र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका विषयमा छलफल गरेका छन्।
भारतको नयाँदिल्लीमा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन गुरुङ असोज २६ गते भारत गएका थिए।
भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। उनले बिम्स्टेक बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण बढ्दै गएको प्राकृतिक विपद्को जोखिम सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।
गुरुङले विपद् आउनुअघि तयारी गर्ने तथा विपद्का बेला प्रभावकारी प्रतिकार्य सञ्चालन गर्ने उद्देश्यले ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माण गर्न प्रस्तावसमेत गरेका थिए।
स्वदेश फर्कने क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच संक्षिप्त भेटवार्ता भएको उनको सचिवालयले जनाएको छ।
तीनदिने भारत भ्रमणका क्रममा भएका छलफल र प्रस्तावले बिम्स्टेक सदस्य राष्ट्रबीच विपद् व्यवस्थापन तथा सुरक्षा सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Leave a Comment