बडादशैँको पाँचौँ दिन आज स्कन्दमाताको आराधना गरिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, असोज २९ । बडादशैँअन्तर्गत नवरात्रको पाँचौँ दिन आज देशभर नवदुर्गामध्ये पाँचौँ स्वरूप स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

यस अवसरमा घरघरका दशैँघर तथा पूजाकोठामा देवीको पूजा गरी सुख, शान्ति, शक्ति र समृद्धिको कामना गरिँदै छ।
वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्म नौ दिन नवदुर्गाको विशेष पूजा आराधना गर्ने परम्परा छ।

नवरात्रको प्रत्येक दिन दुर्गाका फरक–फरक स्वरूपको पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार स्कन्दमाताको आराधनाले भक्तजनलाई सुख, शान्ति र आध्यात्मिक शक्ति प्राप्त हुने विश्वास छ।
नवरात्रका अवसरमा घटस्थापना गरिएको स्थानमा राखिएको जमरासहित दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थ तथा देवी स्तोत्र पाठ गर्ने चलन छ। देवीको आराधना र उपासनाले शक्ति, ऐश्वर्य तथा विद्याको प्राप्ति हुने धार्मिक विश्वास रहिआएको छ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाताको पूजा गरिन्छ। त्यसैगरी छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
नवरात्रका नौ दिन देशभरका शक्तिपीठ तथा देवी मन्दिरमा पूजाआजा र दर्शन गर्ने भक्तजनको चहलपहल बढ्ने गरेको छ। दशैँघरमा विधिपूर्वक स्थापना गरिएको जमरा र देवीको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म ग्रहण गर्ने परम्परा छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बडादशैँ नेपालीको प्रमुख चाड हो। यस पर्वले परिवार तथा आफन्तबीच भेटघाट, सद्भाव, एकता र आपसी सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

Leave a Comment