रास्वपाबाट स्थानीय चुनाव लड्न चार चरणको छनोट प्रक्रिया, १०० अंकमा मूल्याङ्कन हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौँ, असोज २८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न चाहनेहरूका लागि चार चरणमा आधारित छनोट प्रणाली अघि सारेको छ।

परम्परागत राजनीतिक अभ्यासमा देखिँदै आएको नेताको व्यक्तिगत निर्णय र बन्द कोठाबाट टिकट वितरण गर्ने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यसहित पार्टीले नयाँ उम्मेदवार छनोट रूपरेखा सार्वजनिक गरेको हो।
रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुसार पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यका आकांक्षीले विभिन्न चरणको मूल्याङ्कन पार गर्नुपर्नेछ। उम्मेदवारको अन्तिम छनोट कुल १०० अंकका आधारमा गरिने व्यवस्था गरिएको छ।
चार आधारमा उम्मेदवारको मूल्याङ्कन
रास्वपाको नयाँ व्यवस्थाअनुसार उम्मेदवार छनोटमा सबैभन्दा बढी ४० प्रतिशत भार प्रारम्भिक निर्वाचनलाई दिइएको छ। त्यस्तै, नेतृत्व क्षमता विकाससम्बन्धी तालिम तथा परीक्षाका लागि २५ प्रतिशत, संगठनसँगको निकटता र लोकप्रियताका लागि २५ प्रतिशत तथा समावेशिताका लागि १० प्रतिशत अंक निर्धारण गरिएको छ।
पार्टीले प्रारम्भिक निर्वाचन हुनुअघि नै नेतृत्व विकास, संगठनात्मक सम्बन्ध तथा लोकप्रियता र समावेशितासम्बन्धी मूल्याङ्कन पूरा गर्ने जनाएको छ। यसरी प्राप्त अंक केन्द्रीय सर्भरमा गोप्य रूपमा डिजिटल लक गरेर राखिनेछ।

छनोटका सबै प्रक्रिया पूरा भएपछि मात्र उक्त विवरण सार्वजनिक गरी उम्मेदवारहरूको समग्र मूल्याङ्कन सार्वजनिक गरिने रूपरेखामा उल्लेख छ।
तालिम र परीक्षा उत्तीर्ण गर्नुपर्ने
उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको नेतृत्व विकाससम्बन्धी एकेडेमीअन्तर्गत १० वटा विषयगत मोड्युलमा तालिम लिएर परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

तालिममा संविधान, स्थानीय सरकार सञ्चालन ऐन, बजेट निर्माण, सुशासन, सार्वजनिक खरिद, डिजिटल साक्षरता तथा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, विपद् व्यवस्थापन र सञ्चार कलालगायतका विषय समेटिएका छन्।

निर्धारित परीक्षामा न्यूनतम मापदण्ड पूरा गर्न नसक्ने आकांक्षी उम्मेदवार छनोट प्रक्रियाबाटै बाहिरिने व्यवस्था गरिएको छ।
रास्वपाले नयाँ प्रणालीमार्फत उम्मेदवार छनोटलाई व्यवस्थित, प्रतिस्पर्धात्मक र मूल्याङ्कनमा आधारित बनाउने लक्ष्य राखेको छ। यो व्यवस्था कार्यान्वयनमा आएमा स्थानीय तहका उम्मेदवार छनोटमा पार्टीभित्रको संगठनात्मक क्षमता, नेतृत्व दक्षता, लोकप्रियता र समावेशितालाई समेत महत्त्व दिइनेछ।

Leave a Comment