काठमाडौं, असोज २८। इंग्लिस क्लब आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा फ्रान्सेली टोली लिललाई ३–० गोलले हराउँदै प्रभावशाली जित निकालेको छ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलको दोस्रो हाफमा आर्सनलले केवल सात मिनेटको अन्तरालमा तीन गोल गर्दै आफ्नो दबदबा कायम गरेको हो।
पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा आक्रामक बनेको आर्सनलले लिलको रक्षापंक्तिलाई दबाबमा राख्दै लगातार गोल गर्न सफल भयो।
आर्सनलका लागि जुरियन टिम्बरले ६०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि एबेरेची एजेले बुकायो साकाको पासमा गोल थपे। साकाले काई हाभर्ट्जको पासलाई सदुपयोग गर्दै तेस्रो गोल गरेपछि आर्सनलको जित सुनिश्चित भएको थियो।
यस जितसँगै आर्सनलले च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिएको छ। लिड्स युनाइटेडलाई २–१ गोलले हराएको खेलको तुलनामा प्रशिक्षक मिकेल आर्टेटाले टोलीमा पाँच खेलाडी परिवर्तन गरे पनि त्यसको असर प्रदर्शनमा देखिएन।
खेलको अन्तिम समयमा लिलका लागि ओलिभियर जिरुड मैदान प्रवेश गर्दा घरेलु समर्थकले उनलाई स्वागत गरेका थिए। आर्सनलमा छ वर्ष बिताएका जिरुडले क्लबका लागि १०५ गोल गरेका थिए।
पहिलो खेलमा रियल बेटिससँग पराजित भएको लिलले आर्सनलविरुद्ध पनि हार बेहोरेको छ। आर्सनल भने यस जितसँगै च्याम्पियन्स लिगको अंकतालिकामा बार्सिलोना र स्पोर्टिङ लिस्बनजस्ता टोलीसँग शीर्ष स्थानको प्रतिस्पर्धामा अघि बढेको छ।

